‘दसैंमा घर आउँछु।’
आमासँग फोनमा कुरा गर्दा कोहलपुर नगरपालिका–११ का २३ वर्षीय कविरलाल थारुले यही भनेका थिए। आमाका लागि त्यो एउटा सामान्य कुराकानी थियो। छोराले घर फर्किने खबर सुनाउँदा मनमा खुसी पनि थियो। तर त्यही कुराकानी कविरलालको जीवनको अन्तिम कुराकानी बन्न पुग्यो।
दसैंमा घर फर्केर परिवारसँगै रमाउने उनको योजना थियो। तर रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले उनको त्यो योजना मात्रै होइन, उनको जीवन नै बगाएर लग्यो।
परिवारको कमजोर आर्थिक अवस्था र बीचमै पढाइ छाडेपछि कविरलालका लागि ज्याला–मजदुरी गर्नु बाध्यता जस्तै बनेको थियो। विगत केही वर्षदेखि साथीहरूसँग रसुवा पुगेर जलविद्युत् आयोजनामा ज्याला–मजदुरी गर्दै आएका उनी पछिल्लो पटक गत वैशाखमा घरबाट रसुवा गएका थिए।
चार दिनअघि मात्रै उनले घरमा रहेकी आमासँग फोनमा कुराकानी गरेका थिए। आमासँगको कुराकानीमा दसैंमा घर फर्किने बताएका थिए। त्यसपछि भने उनी परिवारको सम्पर्कमा आएनन्।
चीनको तिब्बत हुँदै रसुवामा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि परिवारमा कविरलालको खोजी सुरु भयो। सुरुमा परिवारले उनी सुरक्षित रहेको आशा गरेको थियो। तर बिस्तारै बाढीले ठूलो मानवीय क्षति पुर्याएको खबर आउन थालेपछि परिवारको मनमा चिसो पस्यो।
आशा र त्रासबीच परिवारले उनको खोजी गरिरह्यो। अन्ततः कविरलालका दाजु सुग्रित थारु भाइको खोजी गर्दै चितवन पुगे। त्यहाँ उनले भाइको शव पहिचान गरे।
दसैंमा घर फर्किने वाचा गरेका कविरलाल अन्ततः शव बनेर घर फर्किए।
शव बुझेर घर ल्याएपछि मृतकको धार्मिक संस्कारअनुसार शनिबार उनको अन्त्येष्टि गरिएको छ। ज्याला–मजदुरी गरेर परिवारको खर्च जोहो गर्न रसुवा पुगेका छोरा लाश बनेर फर्किएपछि अहिले परिवार र आफन्त गहिरो शोकमा डुबेका छन्।
घरको बलियो खम्बा मानिएको साइँलो छोरालाई विनाशकारी बाढीमा गुमाउँदा परिवारको खुसी खोसिएको छ। केही दिनअघि मात्रै दसैंमा घर आउने खबर सुनाएका छोराको अन्तिम बिदाइ गर्नुपर्ला भन्ने कल्पनासमेत परिवारले गरेको थिएन।
मृतकका दाजु सुग्रित थारुले तीन दिनअघि मात्र भाइ कविरलालले आमासँग फोनमा कुराकानी गर्दै दसैं मनाउन घर फर्किने कुरा गरेको स्मरण गरे।
‘बाढी आउनुभन्दा अगाडि आमासँग कुराकानी हुँदा भाइले दसैं मनाउन आउने भनेको थियो। तर दसैं मनाउन आउने उसको योजना नै तुहियो, हाम्रो भाइ बाढीमै अस्तायो,’ सुग्रितले भने।
चार दाजुभाइमध्ये सबैको विवाह भइसके पनि कविरलाल भने अविवाहित थिए। उनको पनि चाँडै विवाह गर्ने तयारी भइरहेको थियो। परिवारले उनको भविष्यका बारेमा अनेक सपना बुनेको थियो। तर ती सपना अब सम्झनामा मात्रै सीमित भएका छन्।
कविरलालकी आमाले छोरासँग कुरा गर्दा सधैं उसको ज्यानको चिन्ता गर्ने गरेको सुग्रित बताउँछन्।
‘जोखिमपूर्ण ठाउँमा रहेकाले बाढी, पहिरोबाट आफूलाई जोगाउन आमाले भाइको चिन्ता सधैं गर्नुहुन्थ्यो। तर भाइले उताबाट त्यस्तो बाढी र पहिरोको जोखिम छैन, उच्च ठाउँमा बस्छौं भन्थ्यो,’ उनले भने।
आमालाई ढाडस दिने त्यही छोरा अन्ततः आमाको आँखै अगाडि फर्किएन।
‘तर अकल्पनीय बाढीले हाम्रो भाइलाई सदाका लागि लिएर गयो,’ सुग्रितले भने।
कविरलालले कुन जलविद्युत् आयोजनामा काम गर्थे भन्नेबारे भने परिवारका सदस्यलाई यकिन जानकारी छैन।
बाँकेका थुप्रै सम्पर्कविहीन
रसुवा बाढीमा परेर बाँकेका थुप्रै व्यक्ति सम्पर्कविहीन भएका छन्। कोहलपुर नगरपालिका क्षेत्रका मात्रै ११ जना बाढीमा परेका छन्। तीमध्ये वडा नम्बर ११ का मात्रै ७ जना रहेको वडाध्यक्ष कल्पना शर्माले बताइन्।
बाढीमा बेपत्ता भएका ७ जनामध्ये २ जनाको सनाखत भएको छ। सनाखत हुनेमा २३ वर्षीय कविरलाल थारु र अर्का राजेश चौधरी रहेका छन्। राजेशको पनि शव फेला परेर पहिचान भइसकेको वडाध्यक्ष शर्माले बताइन्।
‘हाम्रै वडाका ७ जना रसुवाको बाढीमा पर्नुभएको छ। पूरै वडा शोकमा डुबेको छ,’ उनले भनिन्।
कविरलालको अन्तिम संस्कार भइसके पनि परिवारको मनमा भने उनले आमासँग गरेको अन्तिम कुराकानी अझै ताजै छ, ‘दसैंमा घर आउँछु।’
अब त्यो आवाज कहिल्यै सुनिने छैन। दसैं आउँछ, घरमा चहलपहल होला, तर कविरलालले घर फर्किएर मनाउने भनिएको दसैं भने उनको परिवारका लागि जीवनभरको एउटा अधुरो प्रतीक्षाजस्तै बनेर रहनेछ।
नगरपालिकाले प्रतिपरिवार ५० हजार दिने
कोहलपुर नगरपालिकाले बाढीमा ज्यान गुमाएका नगरवासीका परिवारलाई तत्काल ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
नगर कार्यपालिकाको शनिबार बसेको बैठकले पीडित परिवारलाई काजकिरिया खर्चबापत उक्त रकम उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताएका छन्।
बाढीमा बेपत्ता भएकाहरूको खोज तथा उद्धारका लागि वडा नम्बर १२ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य वीरेन्द्रकुमार शाहको नेतृत्वमा एक टोली परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
प्रकाशित: १३ भाद्र २०८३ २१:२६ शनिबार