भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाहरूमा फसेका कामदारको खोजी तथा विद्युत् आपूर्ति पुनःस्थापनाका लागि बहुराष्ट्रिय विज्ञ टोलीसहितको अभियान जारी रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहत र विद्युत् पूर्वाधार मर्मतको कार्य युद्धस्तरमा अघि बढाइएको जनाएको छ।
मन्त्रालयका अनुसार नेपाली सेना, भारतीय सेना, दक्षिण कोरियाली विपद् विज्ञ तथा आयोजनाका इन्जिनियरहरूको संयुक्त टोली अहिले जोखिमपूर्ण सुरुङभित्र रेकी, ब्लास्टिङ, होल निर्माण तथा लेदो पन्छाउने काममा जुटेको छ।
माथिल्लो त्रिशूली-१ (२१६ मेगावाट) को सुरुङबाट बाढी आएको ११औं दिनमा नेपाली सेना र दक्षिण कोरियाको विज्ञ टोलीले एक चिनियाँ नागरिकको सकुशल उद्धार गरिसकेको छ। सो आयोजनामा बाँकी सम्पर्कविहीनहरूको खोजीका लागि सबै उपलब्ध स्रोत-साधन परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
उता, सडक सञ्जाल विच्छेद भएको चिलिमे जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाका २१ जना उद्धारकर्मी खटिएका छन्।
प्रतिकूल मौसमका बीच उद्धारकर्मीहरूले हातैले भग्नावशेष हटाउँदै २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिसकेका छन्।
ठूलो क्षमताको एक्स्काभेटर लैजान स्याफ्रू पावरहाउस पोर्टल पहुँच सडक निर्माण सुरु गरिएको छ भने साना हेलिकोप्टरमार्फत आवश्यक उपकरणहरू ढुवानी भइरहेको छ।
जोखिमपूर्ण सुरुङभित्रको अवस्था पत्ता लगाउन ऊर्जा मन्त्रीको विशेष पहलमा स्वीट्जरल्यान्ड सरकारले नेपाललाई अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।
यस प्रविधिले टनेल भित्रको जोखिम मूल्याङ्कन गरी खोजी तथा उद्धार कार्यलाई थप छिटो, सुरक्षित र प्रभावकारी बनाउन मद्दत पुग्ने मन्त्रालयले जनाएको छ।
क्षतिग्रस्त सुरुङ खुलाउन हाल थप एक्स्काभेटर, ब्याकहो लोडर, बबक्याट र ड्रोनलगायतका आधुनिक उपकरणहरू परिचालन गरिएको छ।
बाढीबाट पूर्ण रूपमा विद्युत् सेवा बन्द भएका क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक बिदाका दिनसमेत अहोरात्र खटेर विद्युत् आपूर्ति सुचारु गराएको छ।
मन्त्रालयका अनुसार धादिङको करिब सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा सञ्चालन भइसकेको छ भने नुवाकोटमा करिब ९६ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत विद्युतीकरण सम्पन्न भएको छ।
तत्काल राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेका दुर्गम स्थानहरूमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) मार्फत सोलार टुकीलगायतका वैकल्पिक साधनहरू उपलब्ध गराई विद्युत्को पहुँच सुनिश्चित गरिएको मन्त्रालयका सि.डि.इ. एवम् सहायक प्रवक्ता शालिग्राम भण्डारीले जानकारी दिएका छन्।
प्रकाशित: २० भाद्र २०८३ १९:१७ शनिबार