विराटनगरका उद्योगी राजेन्द्र राउतद्वारा रसुवाका बाढीपीतिडका लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षसमेत रहेका उद्योगी राजेन्द्र राउतले रसुवाका बाढी तथा पहिरो प्रभावितका लागि व्यक्तिगत रुपमा ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि राउतले व्यक्तिगत रूपमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् । विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, उपचार र राहतमा थोरै भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले आफूले सहयोग गरेको राउतले बताए ।
राउतको यस मानवीय कार्यको जानकारी दिँदै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले अन्य उद्योगी, व्यवसायी र संघ–संस्थाहरूलाई पनि सहयोगका लागि आह्वान गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै बाढी–पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।
साथै, महासंघले बेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिन, घाइतेहरूको प्रभावकारी उपचारको प्रबन्ध मिलाउन र घरबारविहीन भएकाहरूलाई तत्काल सुरक्षित आवास र खाद्यान्नको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । रसुवामा बाढीले वितण्डा मच्चाएपछि यतिबेला देशैभरबाट सहयोग जुट्ने क्रम जारी छ ।
प्रकाशित: ११ भाद्र २०८३ ११:२० बिहीबार



