समाज

सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने : नेपालको दुःख हाम्रो पनि दुःख हो

भारत–उत्तर प्रदेशअन्तर्गत महाराजगञ्ज जिल्लाका पत्रकारहरूले नेपालमा परेको दुःखलाई आत्मसात् गर्दै भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ हजार जम्मा गरेका छन्।

भैरहवासँग जोडिएको सुनौलीलगायत सो जिल्लाका भारतीय पत्रकार सम्मिलित ‘महाराजगञ्ज प्रेस क्लब’ का तर्फबाट उक्त रकम प्रदान गरी घाइतेको स्वास्थ्य लाभको कामना गर्दै सक्दो सहयोगका लागि भारत सरकार र भारतीय जनतासँग अपील गरिएको छ।

सो क्लबका अध्यक्ष एवं ‘जी न्युज’ भारतका वरिष्ठ संवाददाता अमित त्रिपाठीले सबैभन्दा नजिकको छिमेकी देश आपतमा परेको यस दुःखदको घडीमा साङ्केतिक रुपमा आर्थिक सहयोग गरी मानवीय धर्म निर्वाह गरेको बताए।

दैनिक भास्करका संवाददाता सुरेश त्रिपाठीले नेपाल र भारतबीच सदियौँदेखिको आत्मीय एवं भाइचाराको सम्बन्ध रहेको चर्चा गर्दै घनिष्ठ सम्बन्धसहित छिमेकी राष्ट्रका नाताले बाढीग्रस्त नेपाललाई यथासक्य सहयोग गर्न सबैसँग अनुरोध गरे।

यसैगरी, भारतीय पत्रकार सञ्जय जयसवालले नेपालको दुःखलाई भारतले आफ्नै दुःखका रूपमा लिने गरेको प्रसङ्ग उल्लेख गर्दै भने, ‘अकल्पनीय बाढीका कारण नेपालीजनमा परेको दुःखले हामी भारतीयलाई पनि पीडा दिएको छ। यस विषम घडीमा भारतका नागरिक नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा छन्। आआफ्नो ठाउँबाट बाढीपीडितलाई सक्दो सहयोग गर्न सम्पूर्ण भारतीयजनमा अनुरोध छ।’

आजै महाराजगञ्ज प्रेस क्लबको आयोजनामा सुनौलीमा भारतीय पत्रकार, बुद्धिजीवी, समाजसेवी एवं स्थानीय नागरिकको उल्लेख्य उपस्थितिमा बाढीबाट ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शान्तिदीप प्रज्वलन गरिएको थियो।

प्रकाशित: १५ भाद्र २०८३ १७:१८ सोमबार