समाज

सिन्धुलीमा एक वर्षभित्र २ सय बढी दुर्घटना: ३० जनाको मृत्यु, ५ सय बढी घाइते

मदनभण्डारी राजमार्गको पश्चिम खण्ड अन्तर्गत सिन्धुली हेटौडा सडक खण्डको हरिहरपुरगढी नजिकैको सडक । तस्बिर: अनिल भण्डारी/नागरिक

पछिल्लो समय सिन्धुली राजमार्गहरूको हब नै बनेको छ । तीन ठुला राजमार्गको प्रत्यक्ष पहुँचमा सिन्धुली छ । तर राष्ट्रिय राजमार्गको पहुँचसँगै सिन्धुलीमा दुर्घटना बढ्दै गएको छ ।  सिन्धुली हुँदै तीन ओटा राष्ट्रिय राजमार्ग निर्माण भएका छन् । ती राजमार्गमा पछिल्लो समय दुर्घटना बढ्दै गएको हो ।

निर्माण सम्पन्न भएका तथा निर्माणाधीन राजमार्गहरू नै पछिल्लो समय काल बन्दै गएको छ । पछिल्लो एक वर्षको अवधिमा सिन्धुलीमा दुई सय बढी दुर्घटना भएका छन्। जसमध्ये सबैभन्दा धेरै बिपी राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्क छ । २०८१ सालको साउन देखि हालसम्म बिपी राजमार्ग, मदनभण्डारी राजमार्ग पुष्पलाल मध्य पहाडी तथा भित्री सडकमा २ सय ५ ओटा सवारी दुर्घटना भएका छन् ।

तीन ओटा राजमार्गमा एक वर्षको अवधिमा सवारी दुर्घटनाबाट ३० जनाले दुर्घटनामा ज्यान गुमाएका छन् भने ५ सय २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । साँघुरो र घुमाउरो सडक, तीव्र गति, ट्राफिक चेतनाको कमी, सडकका ट्राफिक चिन्हहरू मर्मत सम्भारको अभावका साथै चालकको लापरबाही तथा जोखिमपूर्ण सडकका कारण दुर्घटना बढ्दै गएको स्थानीय बताउँछन्।

बिपी राजमार्ग तथा मध्य पहाडी राजमार्गका विभिन्न ठाउँमा राखेको सडक सुरक्षाका ट्राफिक चिन्हहरू मर्मत गर्नुपर्ने बेला भएको छ । मर्मत नहुँदा रातिको समय यात्रा गर्दा जोखिम भएको छ । यस्तै दिउसै पनि हुस्सु लाग्दा सडकका चिन्हहरू नहुँदा यात्रामा समस्या भएको चालकहरू बताउँछन् । मदनभण्डारी राजमार्ग फराकिलो र ठुलो राजमार्ग बनेको भएपनि घुमाउरो छ । राजमार्ग घुमाउरो मात्रै छैनन् राजमार्गमा अन्नबाली सुकाउने तथा सडक पार गर्दा स्थानीयले सुरक्षा सतर्कता नअपनाउँदा दैनिक जसो दुर्घटना हुने गरेका छन् ।

राजमार्ग पिचको हिसाबमा राम्रो छ, ठुलो पनि छ, दुधौली ट्राफिक प्रहरी पोष्टका हबल्दार हरेराम खतिवडाले नागरिकसँग भने, तर गति तीव्र गर्दा घुमाउन सक्नुभएको छैन, जसले गर्दा दुर्घटना भएको छ । यस्तै ग्रामीण क्षेत्रमा राजमार्ग बनेकाले स्थानीयमा जनचेतनाको समेत कमी भएको उनको भनाई छ । पछिल्लो समय टिपर सहित ठुला गाडीको चाप पनि बढ्दै गएको छ, पूर्वका यात्रुवाहक सवारी धेरै यही राजमार्ग भएर आवतजावत गर्छन्, उनले भने, त्यसैले दुर्घटना पनि बढिरहेको छ । दुर्घटना न्यूनीकरण गर्न जनचेतना जगाउने होर्डिङ बोर्डहरू राख्ने चेकजाँचमा कडाइ गर्ने काम आफूहरूले गरिरहेको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिपी राजमार्गमा ८२ ओटा सवारी दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् भने २ सय २३ जना घाइते भएका छन् यस्तै मदनभण्डारी राजमार्गमा ७८ ओटा दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने २ सय ८ जना घाइते भएका छन् । यस्तै पुष्पलाल मध्य पहाडी राजमार्गमा ७ ओटा दुर्घटना भएको छ । १ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

यस्तै भित्री सडकहरूमा ३८ ओटा दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन् भने ७४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रवक्ता सूर्यप्रकाश सुवेदीको भनाई छ । बिपी राजमार्ग निकै साँघुरो र घुमाउरो राजमार्ग हो, उनले भने, यो राजमार्गबाट यात्रा गर्दा निकै सजगता अपनाउन आवश्यक छ, । राजमार्गको खनियाखर्क क्षेत्रमा हुस्सु लागेर दिउसै बाटो नदेख्ने हुन्छ यस्तो बेला गति न्यून गर्न आवश्यक छ, उनले भने ।

दुर्घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा कडाइका साथै ट्राफिक जनचेतना समेत दिइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यान्त्रिक समस्या, उकालो घुम्ती सडक धेरै भएकाले दुर्घटना भएको देखिएको छ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका कार्यालय प्रमुख एसपी लालध्वाज सुवेदीले भने, चालकको लापरबाहीले पनि दुर्घटना भएको छ । उनका अनुसार ट्राफिक जनशक्तिको अभावमा पनि चेकजाँचमा कडाइ, चालकलाई सचेतना टाइमकार्डको लागु जस्ता कार्य गरिरहेको उनको भनाई छ । 

प्रकाशित: ४ श्रावण २०८२ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App