समाज

‘बेलैमा समन्वय भएको भए घटना यति उग्र बन्ने थिएन’

सुनसरीको देवानगञ्जमा दुई पक्षीय विवाद हिंसामा परिणत भएपछि असहज परिस्थिति सिर्जना हुनुमा सरकारी निकायकै प्रारम्भिक निष्क्रियता रहेको  स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा र पीडित पक्षले दाबी गरेका छन्।

उनीहरूका अनुसार सुरुदेखि नै प्रभावकारी समन्वय र संवाद भएको भए घटना एक जनाको ज्यान जाने र अरू दुई दर्जन नजिक घाइते अवस्थासम्म नपुग्ने बताएका छन्।

अहिले पनि स्थिति सामान्य बनाउन सङ्घीय सरकारको प्रत्यक्ष पहल, निष्पक्ष छानबिन र दोषीमाथिको कारबाही आवश्यक रहेको उनीहरूले बताएका छन्।

आइतबार राति दुई पक्षीय झडपपछि प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका वडा नं. ४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सो घटनामा कम्तीमा २१ जना घाइते भएका थिए, जसमा दुई जनाको अवस्था गम्भीर छ।

गाउँपालिका अध्यक्ष वेचन मेहताका अनुसार प्रशासनले दुवै पक्षसँग प्रभावकारी समन्वय गरेको भए घटना यो अवस्थामा पुग्ने थिएन। उनले घटनालाई साम्य पार्नका लागि दोषीमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न गर्न माग गरे।

‘पहिलादेखि मुस्लिम र हिन्दु मिलेर बसेकै हो। दुई चार जनाका कारण घटना भयो। त्यस्ता व्यक्तिमाथि छानबिन गरेर कारबाही गर्नुपर्छ,’ उनले भने।

सो घटनामा घाइते भएका हरेराम यादवका भाइ पवन यादवले गोली कसले चलाएको हो भन्ने विषय सरकारले तत्काल स्पष्ट पार्नुपर्ने र दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताए।

‘घटनाको सत्य बाहिर आएपछि मात्रै स्थानीयमा विश्वासको वातावरण बन्न सक्छ,’ उनले भने।

देवानगञ्ज गाउँपालिका–६ का वडाध्यक्ष हरिनन्दन यादवले गोली प्रहार गर्ने व्यक्तिमाथि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने बताए। उनले पीडित परिवारप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए।

देवानगञ्ज क्षेत्रका मुस्लिम अगुवा प्रहरी प्रशासनले दुवैतर्फको साझा भएर भूमिका खेल्न सुल्झाए। ‘युद्ध गरेर समाज बन्दैन,’ उनले भने, ‘घटना साम्य पार्न सबै पक्षले भूमिका खेल्नुपर्छ।’

त्यसो त कतिपयले भने सुरक्षा निकायका प्रमुखहरूलाई सरुवा मात्र नभएर निलम्बन नै गर्नुपर्ने माग पनि गरेका छन्। देवानगञ्ज वडा नं. ६ का अमरेश महेता तत्कालीन सिडिओ बासुदेव घिमिरे र सुरक्षा निकायका प्रमुखहरूलाई सरुवा होइन, निलम्बन गर्नुपर्ने बताए।

सरकारले सिडिओ बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता समेत बोलाइ सकेको छ। सरकारले सोमबार नै सिडिओ घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको थियो। उनको  ठाउँमा सङ्खुवासभाका सिडिओ इश्वरीप्रसाद अर्याललाई खटाएर सोमबार रातिदेखि कार्यभार सम्हालेका हुन्।

सरकारले कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विनोद घिमिरे, सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेवे र सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाएको हो।

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजीमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी शेखर खनाल, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डिएसपी मदन नाथलाई कप्तानगञ्जमा पठाइएको छ।

घटनाको विषयमा छानबिन गर्न गठित गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा रहेको पाँच सदस्यीय समितिले काम थालेको छ।

समितिले मंगलबार सुरक्षा समितिसँग भेट गरी बुधबार घटना भएको स्थान देवानगञ्जको कप्तानगञ्जमा केन्द्रित रहेको छ।

प्रारम्भिक चरणमा जनपथ प्रहरीले तीन राउण्ड र सशस्त्र प्रहरीले लगभग २२ राउण्ड हवाई फायर गरेको बताए पनि गोली भने कसले हानेको खुल्न बाँकी रहेको बताए।

‘अझै तथ्य खुल्न धेरै बाँकी छ,’ उनले भने, ‘हाम्रो कार्यभार दीर्घकालीन रूपमा तथ्यको गहिराइमा पुग्ने छ। त्यही लक्ष्यका साथ काम गरी रहेका छौँ, गोली नै चलाएको विषयमा चाहिँ टुंगोमा पुग्न चाहिँ अझै समय लाग्छ।’

देवानगञ्जको कप्तानगञ्जमा रहेको मन्दिरमा डिजे ठूलो आवाजमा बजाएको विषयलाई लिएर युवाहरूको दुई समूहबिच झडप हुँदा घटना बढेर उग्र रूप लिएको थियो।

हिन्दु समुदायका युवाले सोमबार केही धार्मिक कार्यक्रम गर्ने योजना बनाएर आइतबारदेखि कार्यक्रम गरेका थिए। सो क्रममा ठूलो आवाजमा डिजे बजाएर नाचगान गरेको निहुँमा दुई पक्षीय विवाद बढेर हिंसाको रूप लिएको थियो।

स्थानीयका अनुसार आइतबार हिन्दु समुदायका युवाहरू सुनसरीको कोशी ब्यारेज बोलबमका लागि डिजे बजाउँदै दक्षिणबाट उत्तर नयाँहाटतर्फ जाँदै गर्दा केही मुस्लिम युवाले डिजे बन्द गर्न आग्रह गरेका थिए।

त्यस क्रममा भनाभन सुरु भई डिजे बोकेको गाडीमा तोडफोड भएको तथा गाडीको सिसा फुटाएपछि दुई पक्षबिच उग्र झडप भएको थियो।

त्यस क्रममा देवानगञ्जबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिन सकेन, पछि सशस्त्र प्रहरी थपिएपछि गोली प्रहार भएको थियो। सो क्रममा प्रहरीले थुप्रै राउण्ड अश्रृग्यास र हवाई फायरसँगै गोली प्रहार गरेको थियो ।

प्रकाशित: १३ श्रावण २०८३ १४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App