प्रसवपीडामा रहेकी महिलाले गजेन्द्रनारायण सिंह अस्पतालको मुख्य गेटबाहिर शिशु जन्माएको घटनापछि अस्पताल प्रशासनले घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ।
सामाजिक सञ्जालमा घटना सार्वजनिक भएपछि अस्पतालले बुधबार जारी गरेको विज्ञप्तिमा राजविराज नगरपालिका १४ की बबिता कुमारी पासवानलाई राति करिब २ बजे G4 P3 प्रसवको सुरुवाती अवस्थामा अस्पताल ल्याइएको उल्लेख छ । उनलाई प्रारम्भिक स्वास्थ्य परीक्षण गरी प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको थियो।
आवश्यक जाँचसम्बन्धी रिपोर्ट नआएको भन्दै चिकित्सकले थप आवश्यक परीक्षण गर्न सुझाव दिएको अस्पतालको भनाइ छ। तर, त्यसपछि उनी र उनका श्रीमानले अस्पतालले उपलब्ध गराएको शैयामा नबसी बाहिरिएको र बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिर प्रसूति भएको जानकारी अस्पतालले पाएको विज्ञप्तिमा उल्लेख छ।
शिशु जन्मिएपछि आमा र बच्चासहित पुनः प्रसूति वार्डमा आएपछि ड्युटीमा रहेका स्वास्थ्यकर्मीले सुत्केरीपछिको आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै रहन पटक–पटक आग्रह गरेको भए पनि उनीहरू अस्पतालबाट बाहिरिएको अस्पतालको दाबी छ।
सुत्केरी बबिता र नवजात शिशुलाई अस्पतालमा पुनः भर्ना गरी प्रत्यक्ष निगरानीमा उपचार तथा आवश्यक स्वास्थ्य स्याहार भइरहेको अस्पतालले जनाएको छ । उनीहरूलाई बेड नम्बर २२ मा राखिएको र आमा तथा शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालको भनाइ छ।
घटनापछि अस्पताल प्रशासनले बबिता र नवजात शिशुको हालसम्मको आवश्यक सम्पूर्ण स्वास्थ्य उपचार, औषधि तथा आवश्यक सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।
अस्पतालले घटनाको वास्तविकता पत्ता लगाउन निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने र छानबिनबाट दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षमाथि प्रचलित कानुन तथा नियमअनुसार आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। अस्पतालले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सेवा प्रवाह, प्रसूति सेवा व्यवस्थापन तथा सेवाग्राहीप्रतिको जवाफदेहिता अझ सुदृढ बनाउने प्रतिबद्धतासमेत जनाएको छ।
यस घटनाले एकातर्फ विपन्न नागरिकले सरकारी स्वास्थ्य संस्थामा भोग्नुपरेका समस्यामाथि प्रश्न उठाएको छ भने अर्कोतर्फ अस्पताल प्रशासनले सार्वजनिक गरेको विवरणले घटनाको जिम्मेवारी र वास्तविक परिस्थितिबारे थप छानबिन आवश्यक देखाएको छ। परिवारको आरोप र अस्पतालको स्पष्टीकरणबीचको वास्तविकता निष्पक्ष छानबिनपछि मात्रै स्पष्ट हुने देखिन्छ।
प्रकाशित: २५ भाद्र २०८३ १५:०३ बिहीबार