समाज

पूर्वी नेपालमा भारी वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी क्षेत्रमा मनसुनी प्रभाव कायम रहने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। उहाँले सम्भावित गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयजस्ता मनसुनजन्य विपद्बाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ।

महाशाखाले वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरेको छ। हाल मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ, तराई भूभाग नजिक रहेको विभागले जनाएको छ।

महाशाखाको तीनदिने मौसम पूर्वानुमानअनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

बुधबार देशभर बदली रहने अनुमान गरिएको छ। पहाडी तथा तराईका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा वर्षासँगै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। बुधबार राति पनि देशभर बदली रहने र हिमाली क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना कायम रहनेछ।

यस्तै, बिहीबार पनि देशभर बदली रहने पूर्वानुमान गरिएको छ। पहाडी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानसँगै मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बिहीबार राति पनि देशका हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहने उल्लेख गरिएको छ।

महाशाखाले मनसुन सक्रिय रहने भएकाले सम्भावित प्राकृतिक विपद्बाट सुरक्षित रहन तथा यात्रा र अन्य गतिविधि अघि बढाउँदा मौसमको अद्यावधिक जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: ३० असार २०८३ १७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App