भोटेकोशीमा बाढी आएको सोमबार ६ दिन भएको छ। यो बीचमा राज्यले विभिन्न प्रभावित स्थानबाट उद्धार, घाइतेहरुको उपचार, राहत वितरण, प्रभावित क्षेत्रका मानिसहरुलाई आफन्तसँग पुर्नमिलनलगायतका कामहरु पनि गरिरहेकै छ।
नुवाकोटको विदुरमा रहेको गणबाट एकैछिन नबिसाइ हेलिकोप्टरहरु पनि उडिरहेकै छन्। राहत सामग्रीका प्याकेटहरु पनि ठाउँठाउँमा वितरण भइरहेकै छन्।
बाढीको छैठौं दिन प्रधानमन्त्री बालेन शाहले प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३७९ जना नागरिकको सकुशल उद्धार गरिएको जानकारी दिँदै ९३९ शव फेला परेको र ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेको बताएका छन्।
यसका बाबजुद एउटा प्रश्न अनुत्तरित छ, के उद्धारका लागि यो सबै पर्याप्त छ?
छैन । किन ?
बिनाशकारी भोटेकोशी बाढी आएको बुधबार र सोपछिका पाँचै दिन विदुरमा रहेको नेपाली सेनाको एक नम्बर गणमा सर्वसाधारणको भीड थेगिनसक्नुको छ। दैनिक हजारौंको संख्यामा सर्वसाधारण आफन्तको खोजीमा सेनाको हेलिकोप्टरबाट निस्कने व्यक्ति, घाइते र प्लाष्टिकमा पोको पारिएको शवभित्र आफन्त खोजिरहेका छन्। चर्को गर्मी र पुनः बाढी आउने त्रासका बीच सडक किनारबाटै हेलिप्याडमा ओर्लने हेलिकोप्टरबाट उनीहरुको आँखा निमेशभरका लागि पनि ओझेल भइरहेको छैन।
खबर थाहा पाएर आफन्तको जिम्मा लिन हतारिनेहरु उत्साहित देखिन्छन्। घाइतेहरुलाई प्राथमिक उपाचारपछि अस्पताल लैजान आफन्तहरु हतारोमा भेटिन्छन्। शवको पहिचानका लागि आफ्ना मलिन अनुहारमा दौडिरहेका भेटिन्छन्। ठीक अर्कोतर्फ बेपत्ता तथा बाढीमा पुरिएकाका आफन्तहरु निराश मुद्रामा सहयोगको अपेक्षासहित सेनाको ब्यारेक छेउ पसिना पुछिरहेको देखियो ।
बेत्रावतीबाट करिब २ किलोमिटरमा रहेको नयाँ पुलमा त्रिशूली थ्री बीको कार्यालय र आवास भवन एकै परिषरमा छ। बढी आउँदा कार्यालय र आवास गृहमा ४३ जना रहेको कम्पनीले जनाएको छ। त्यसमा कार्यालय प्रमुखदेखि प्रवन्धक, सहप्रवन्धकसहित इन्जिनियरहरु, कर्मचारीहरु तथा उनीहरुका आफन्तहरु पनि थिए। सीमित संख्यामा रहेका कर्मचारीहरु भने भागेर बाच्न सफल भएपनि ठूलो संख्यामा रहेका कर्मचारीहरु भने भित्रै पुरिएको कम्पनीले आफैं पुष्टि गरेको छ।
साइटमा गएका समय बाढी आएपछि भागेर ज्यान बचाएका इन्जिनियर किशान अधिकारीले आठ बजेदेखि नै कार्यालयको काम सुरु हुने भएकाले अधिकांश कर्मचारीहरु कार्यालयको भवनभित्रै रहेको बताउँछन्। उनले बाढी अकल्पनीय ठूलो भएपनि भवनभित्र रहेकामध्ये केहीको जीवन बचाउन सकिने सम्भावना रहेको बताउँदै अब भने धेरै ढिला भएको उल्लेख गरे। भवनहरुको अवस्था र संरचनात्मकरुपमा पनि पूर्णरुपमा क्षतिग्रस्त भएको अवस्था नरहेको उनको बुझाई छ।
उद्धार कार्यको नेतृत्व गरिरहेको नेपाली सेनाका एक उच्च अधिकारीले विपतपछिको ७२ घण्टाभित्र घाइते र अप्ठेरोमा परेकाहरुको उद्धार हुने समय रहेको बताए। तर सोपछिको ७२ घण्टासम्म पनि त्रिशूली थ्री बीको भवन क्षेत्रभित्र फसेका ४३ जना कर्मचारी र आफन्तहरुबारे कुनै जानकारी बाहिर नआउनु पीडादायी भएको आफन्तको गुनासो छ। बाढीमा बेपत्ता भएका कम्पनीका कर्मचारीका आफन्तले त्रिशूली थ्री बीलाई प्राथमिकतामा राखेर राज्यले उद्धार कार्य नगर्दा भग्नावशेषभित्र जीवन भेटिने आशसमेत समाप्त हुँदै गएको दुखेसो गरे। ४३ जना एकै ठाउँमा फसेको जानकारी हुँदा समेत सरकारी तहबाट भएको यो लापरवाही माफी योग्य नभएको उनको भनाइ छ।
आफन्तको खोजीमा विदुरमा रहेको सेनाको ब्यारेकभित्र भेटिएकी छहरेकी एक युवतीले सास दिन नसकेपनि लासमात्र भएपनि दिन सरकारसँग गुहार गरिन्। बाढीले आफन्त बेपत्ताको लामो समयसम्म प्रतीक्षाले थप पीडा दिएको बताउँदै उनले जति ढिला भयो त्यति आफ्ना मान्छेहरु नचिनिने अवस्थामा पुग्ने बताइन्।
इलामबाट आफन्त खोज्न नुवाकोट पुगेका युवकले लामो समयसम्म भवनभित्रै पुरिँदा सास भेट्ने अवस्था कमजोर बनेको बताए। जिवितै भेट्ने सम्भावना अब न्यून बन्दै गएको बताउँदै उनले जति ढिला भयो त्यति धार्मिक संस्कारमा समेत कठिनाइ हुँदै जाने भएकाले तत्काल परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरे।
बाढी गएको ६ दिन पूरा हुँदा नेपाली सेनाको तर्फबाट एउटा एक्जाभेटरसहित काम सुरु भएको छ। रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बाँकी क्षेत्रमा भइरहेको उद्धारको काम अन्तिम चरणमा पुगेकाले अब भग्नावशेषभित्रका मानिसहरुको खोजीलाई तीब्र बनाउने आश्वासन दिए। सोही अनुसार, थ्रीबीमा मंगलबारदेखि थप जनशक्तिसहितको काम हुने उनले बताए ।
विदुरमा रहेको नेपाली सेनाको गणमा रहेका उच्च अधिकारीले पनि मंगलबार देखिनै थप जनशक्तिसहित भग्नावशेष पन्छाउने काम गर्ने बताउँदै स्थानीय किस्पाङ गाउँपालिकाले समेत उक्त कार्यमा प्राविधिकसहितको सहयोग गर्ने जानकारी दिएको बताए ।
बढी गएको सातौं दिनदेखि आवश्यक उपकरण र जनशक्तिसहित आवास र कार्यालय परिसरमा काम गर्न सक्ने राज्यले आखिर किन यतिका दिनसम्म चासो राखेन भन्ने प्रश्न गम्भीर छ।
के फिल्डमा रहेका र निरन्तर सम्पर्कमा आइरहेका कम्पनीका कर्मचारीले त्यहाँको वास्तविक अवस्थाबारे सरकारलाई जानकारी दिएनन् ? के सेनाले भग्नावशेषभित्रबाट जिवितै कसैको उद्धार गर्न सक्ने अवस्था नदेखिपछि दोस्रो चरणमा मात्रै यहाँ काम गर्ने योजना बनाएको हो ? सरकारले उद्धारमा सुरुवाती चरणमा परिचालन गरेका सेनाको जनशक्ति कम भएकाले यहाँ पुग्न नसकेको हो ? यी सबै प्रश्नहरुले एक पटक फेरि राज्य र जनताबीचको खाडलको मापन गरेको छ।
सुरुवाती ७२ घण्टापछिका सबै घण्टा, मिनेट, सेकेन्ड र पलपल थ्री बीको आवास र कार्यालय भवनभित्र फसेका आफन्तहरुका लागि थप पीडादायी छन्। प्राथमिकता बुझेर सुरुवाती तीन दिन चुपचाप बसेका आफन्तहरु अब दिनरात नभनी विदुरमा रहेको नेपाली सेनाको ब्यारेकमा उडान र अवतरण गर्ने हेलिकोप्टरको प्रतीक्षामा छन्। जुन प्रतीक्षा उनीहरुका लागि हरेक सेकेन्ड भारी हुँदै गएको छ।
आफन्तको कुनै खबर नपाउँदा अत्यास पूर्ण समय बिताइरहेकी काठमाडौंकी एक युवतीले हारगुहार र याचनासहित भनिन्, ‘सरकार! सक्छौं सास देउ, सक्दैनौं लास देउ, तर यस्तो अत्यास लाग्दो प्रतीक्षाको पीडा नदेऊ ।’
प्रकाशित: १५ भाद्र २०८३ २१:०० सोमबार



-600x400.jpg)