म्याद गुज्रेको र कम तौलको सिलिन्डर बिक्री गरेको भन्दै रिजालको भान्छा ग्यास उद्योग प्रालिलाई जिल्ला प्रशासन कार्यालय मोरङले करिब तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले बुढीगंगा गाउँपालिका हात्तीमुडास्थित प्रालिलाई शुक्रबार दुई लाख ९५ हजार रुपैयाँ जरिवाना गरेको हो।
साउन २७ गते जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहितको संयुक्त बजार अनुगमन टोलीले गरेको अनुगमनका क्रममा रिजालको भान्छा ग्यास उद्योग परिसरमा १९ वटा रिफल गरेको सिलिन्डरमध्ये १९ वटैको तौल परीक्षण गर्दा एउटा सिलिन्डरमा २ सय ४० ग्राम तौल कम रहेको र दुई वटा सिलिन्डरमा उल्लेखित म्याद गुज्रेको पाइएको थियो।
संयुक्त अनुगमन टोलीले जरिवाना गर्नुका साथै म्याद गुज्रेको दुवै सिलिन्डरको सिल तोडी नष्ट गर्न लगाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। यस्तै कञ्चनेश्वर ग्यास पसल विराटनगर–३ लाई जाँचबुझ निरीक्षणको क्रममा सहयोग नगरेको भन्दै १५ हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ। यस अघि मोरङकै नेमुवास्थित कोशी ग्यास उद्योगलाई पनि कम तौलको सिलिन्डर बिक्री गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले जरिवाना गरेको थियो।

प्रकाशित: २९ श्रावण २०८३ १९:५२ शुक्रबार
-600x400.jpg)


