समाज

इनिशा बलात्कार हत्या प्रकरणमा मुद्दा चलाउन लिएका पाँच आधार

जिल्ला अदालत सुर्खेतले १६ वर्षीया इनिशा विकको बलात्कार र हत्या अभियुक्तको बयान सम्पन्न गरेको छ । अदालतका सुचना अधिकारी उज्वलदेव रावलले अभियुक्त चार जनाकै बयान सकिएको जानकारी दिए । ‘जिल्ला सरकारी वकिल कार्यालयले आइतबार चार जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो,’ उनले भने, ‘आज (सोमबार) बयान सकिएको छ, मंगलबारदेखि थुनछेक बहस सुरु हुन्छ ।’

सरकारी वकिल कार्यालयले इनिशामाथि सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्दामा सजाय माग गर्दै अभियोगपत्र दर्ता गरेको थियो । जिल्ला प्रहरी कार्यालयले मुख्य अभियुक्त (वीरेन्द्रनगर प)ले मात्रै बलात्कार गरेको भन्दै जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा र बाँकी तीन जनालाई ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन राय पेश गरेको थियो ।  

प्रहरीको रायविपरित सरकारी वकिल कार्यालयले चारै जनालाई सामुहिक बलात्कार र कर्तव्य ज्यान सम्वन्धी मुद्दामा सजाय माग गरेको छ । सरकारी वकिल कार्यालयले चारै जनामाथि सामुहिक बलात्कार मुद्दा चलाउन पाँच कारणलाई आधार मानेको छ ।  

पहिलो, किटानी जाहेरी । किटानी जाहेरीमा ‘वीरेन्द्रनगर प’, ‘वीरेन्द्रनगर घ’, ‘वीरेन्द्रनगर न’ र ‘वीरेन्द्रनगर फ’ले सामुहिक बलात्कार गरेर हत्या गरेको उल्लेख छ ।  

दोस्रो, घटनास्थलमा चार वटा अस्थायी साधन फेला पर्नु । सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको मिसिलमा घटनास्थलमा चार वटा अस्थायी साधन (कण्डम) फेला परेको उल्लेख छ । ‘ती मध्ये एउटा प्रयोग भएको, त्यसमा रगतले लतपतिएको देखिन्छ,’ अभियोगपत्रमा भनिएको छ, ‘बाँकी तीन वटा अस्थायी साधनहरु प्रयोग भएका थिएनन् ।’

तेस्रो, अस्पतालको पोष्टमार्टम रिपोर्ट । सरकारी वकिलको कार्यालयका अनुसार पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि यौनीमा गम्भीर चोट लागेर अत्याधिक रक्तश्रावका कारण इनिशाको मृत्यु भएको उल्लेख छ ।

चौथो, शरीरमा घाउ–चोट देखिनु । सरकारी वकिलको कार्यालयका अनुसार प्रहरीको राय प्रतिवेदनमा इनिशाको शरिरका पाँच ठाउँमा घाउ–चोट देखिएको उल्लेख छ ।  

पाँचौं, घटना विवरण कागज । प्रहरीको प्रतिवेदनमा घटना विवरण कागज गरेका मध्ये पाँच जनाले सामुहिक बलात्कारपछि हत्या भएको उल्लेख गरेका छन् । ‘यी पाँच कारणले बलात्कार घटनामा पनि चारै जना संलग्न भएको देखाउँछ,’ सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा भनिएको छ, ‘कानुनको विवादमा परेका बालकहरु (चारै जना) विरुद्ध बलात्कार हत्या अभियोगसहित अभियोगपत्र प्रस्तुत गरिएको व्यहोरा अनुरोध गर्दछौं ।

सरकारी वकिल कार्यालयले आरोपीहरु १८ वर्षभन्दा कम उमेरका रहेको देखिएकाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३६(४) बमोजजिम हुने कारबाही साथै अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति शुल्क मागदाबी गरेको छ । उक्त दफामा १६ वर्ष वा सोभन्दा माथि र १८ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाले कुनै कसुरजन्य कार्य गरेको भए निजलाई कानुन बमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको दुई तिहाई सजाय हुनेछ भनिएको छ।  

मुलुकी अपराध संहिता २०७४ को दफा १७७ मा ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । त्यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई जन्मकैद हुने उल्लेख छ । पीडित १६ वर्षभन्दा बढी, १८ वर्षभन्दा कम उमेरकी महिला भए अभियुक्तलाई १० वर्षदेखि १२ वर्षसम्म सजाय हुने व्यवस्था छ । सामूहिक रुपमा जबरजस्ती करणी गरेमा थप पाँच वर्ष कैद सजाय हुने उल्लेख छ ।  

ट्युसन पढ्न घरबाट निस्केकी इनिशा फागुन २३ गते बिहान वीरेन्द्रनगर नगरपालिकाको सामुदायिक वनको जंगलमा मृत फेला परेकी थिइन् । इनिशाका परिवारले अझै शव बुझ्न मानेको छैन् । उनको शव कर्णाली प्रदेश अस्पताल कालागाउँमा राखिएको छ ।  

 

इनिशाको न्यायका लागि जिल्ला अदालतबाहिर नारा जुलुस गर्दै आफन्त र अधिकारकर्मी ।

प्रकाशित: १६ चैत्र २०८२ २०:४९ सोमबार