कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको बताएकाे छ।
हालसम्म जिल्लामा ३२ हजार ९९१ बोरा युरिया र २६ हजार २६७ बोरा डिएपी किसानलाई वितरण गरिएको छ। त्यस्तै, पोटास ३७.०५० मेट्रिक टन (७४१ बोरा) वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयका प्रमुख दीपककुमार राजवंशीले बताए। धान रोपाइँको मुख्य चरण लगभग सकिएकाले अब किसानले आवश्यकताअनुसार मल प्रयोग गर्ने समय सुरु भएको छ। उनका अनुसार मल मौज्दात रहेकाले किसानले चिन्ता गर्नुपर्ने अवस्था छैन।
कार्यालयमा हाल युरिया १३० मेट्रिक टन र डिएपी ५४ मेट्रिक टन मौज्दात रहेको छ। धान रोपाइँपछि धानको वृद्धि र उत्पादनका लागि विशेषगरी युरियालगायतका मल आवश्यक पर्ने भएकाले केन्द्रबाट दोस्रो चरणअन्तर्गत आवश्यक परिमाणमा मल आपूर्ति गर्ने प्रक्रिया सुरु भइसकेको प्रमुख राजवंशीले जानकारी दिए। उनका अनुसार गत वर्षको यही अवधिमा भएको मलको खपतलाई आधार मानेर यस वर्ष पनि आवश्यकताको मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापन गरिनेछ।
'थप मल आउने भएकाले किसानले मलको अभाव व्यहोर्नुपर्ने अवस्था आउँदैन', प्रमुख राजवंशीले भने। कार्यालयले झापाका किसानलाई मात्रै नभई पहाडी जिल्लातर्फ पनि मल वितरण गर्दै आएको छ। कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयबाट इलाम, पाँचथर र ताप्लेजुङका साथै तेह्रथुमको एउटा स्थानीय तहसम्म रासायनिक मल आपूर्ति तथा वितरण हुँदै आएको छ। रासस
प्रकाशित: २९ श्रावण २०८३ ११:१२ शुक्रबार
-600x400.jpg)


