समाज

पोखरा–सिमरा हवाई सेवा सुचारु गर्न जोड

पोखरामा संचालन गरिएको जाउँ है पोखरा अभियान । तस्बिरः नागरिक

वीरगंजबाट सुरु भएको ‘जाउँ है पोखरा’ अभियानका क्रममा व्यावसायीले पोखरालाई सिमरासम्म सिधा हवाई सञ्जालमार्फत जोड्नमा चाँसो दिएका छन ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहितको अभियान लिएर गएका पोखराका पर्यटन व्यावसायीले वीरगञ्जका व्यवासायीसँगको छलफलका क्रममा सिधा हवाई सेवा नहुँदा पर्यटकको यात्रामा असहज भएको बताएका थिए । सिधा हवाई सेवा सञ्जालको बिस्तारका लागि दुईवटै सहरका व्यावसायी एकजुट हुनुपर्नेमा उनीहरुको जोड थियो ।  

अभियान संचालन गरेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्रले बारम्बार फरक फरक सास्ती खेप्नुपरेको बताए । कहिले द्वन्द्व त कहिले भूकम्प, अनि नाकाबन्दीदेखि कोभिड र बैंकको चर्को ब्याजको मार पर्यटन क्षेत्रले खेप्नुपरेको गुनासो सुनाएका थिए । बारम्बार सकस खेपेको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि अब पोखरा–सिमरा सिधा हवाई सेवा संचालन हुनुपर्ने उनको भनाई थियो । विगतमा संचालन भएर रोकिन पुगेको पोखरा–सिमरा हवाई उडान सेवा पुनः संचालन गर्नुपर्ने आबश्यकता औंल्याए ।  

‘पोखरा–सिमरा सिधा हवाई सेवाले खासगरि भारतीय पर्यटनलाई बढि सहज बनाएको थियो । सिमराबाट पाहुना उडेर पोखरा पुग्दा आउजाउ सहज बनाएको थियो,’ उनले भने, ‘तर, पछि त्यो उडान रोकियो । हवाई उडान रोकिएको त्यहीबेला स्थलमार्गको यात्रा पनि सकसपूर्ण बन्यो । बिस्तारको क्रममा पोखरा–मुग्लिन सडकले केही वर्ष असहज बनाएको थियो । अहिले स्थलमार्गको यात्रा सहज छ । तर, कतिपय पर्यटकका लागि हवाई यात्रा पनि जरुरी छ ।’ केही वर्ष अघि बुद्ध एयरले पोखरा–सिमरा उडान संचालन गरेको थियो । तर, पछि यात्रु अभाव भएको भनेर नियमित उडान रोकिएको थियो ।

मधेस प्रदेशका पूर्व मन्त्री ओमप्रकाश शर्माले पोखरा–सिमरा उडान रोकिनु पर्यटन क्षेत्रका लागि चिन्ताको विषय बनेको बताए । सिधा उडान सुरु गर्ने कार्यमा आफ्नो पनि भूमिका रहेको उनले स्मरण गराए । यात्रु अभाव हुँदा जहाज कम्पनीलाई हुने घाटा ब्यहोरेर भए पनि सरकार र नीजी क्षेत्र मिलेर उक्त रुटमा उडान सुचारु गरिनुपर्ने सुझाव उनको छ । ‘हवाई सेवा टिकाउन एयरलाइन्स कम्पनिलाई यात्रु चाहिन्छ । यात्रु जुटाउनका लागि सबैको पहल जरुरी छ,’ उनले भने ।  

पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरालाई उत्कृष्ट र पहिलो रोजाइको पर्यटकीय गन्तव्य बनाउन बोर्डले व्यावसायीसँग सहकार्य गरेर अगाडि बढिरहेको बताए । ‘सिधा हवाई सेवा संचालन गर्न सकेको खण्डमा पर्यटन क्षेत्रले बढि लाभ पाउँछ । पैसा खर्च गर्ने क्षमता भएका पाहुनाले यात्रामा पनि सहजता खोज्छन । उनीहरुका लागि सिधा हवाई सेवा पर्याप्त छ । नेपालको पर्यटनले भारतीय बजारसँग पर्याप्त अपेक्षा पनि गर्छ,’ उनले भने । पोखराको पर्यटन क्षेत्रमा भारतीय पर्यटनले ठूलो गुन लगाएको पनि उनले बताए ।  

कार्यक्रममा व्यावसायीले भारतीय र तराई मूलका पर्यटकलाई पोखरामा भेदभाव गर्ने गरिएको, सिमा नाकामा भारतीय पर्यटकले हैरानी खेप्नु परेको, पोखराका ट्यक्सीले मनलाग्दी भाडा असुल्ने गरेको र पोखरामा भारतीय पर्यटकका सवारीलाई निर्वाध संचालनमा अवरोध सिर्जना गर्ने गरिएको गुनासो सुनाए । भारतीय सवारीलाई सिमानाकामा दिइने प्रज्ञापनपत्र अनलाइनमार्फत् दिन पनि व्यावसायीले सुझाएका थिए ।  

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले अब बन्ने नयाँ बन्ने सरकारले पर्यटन नीति सुधार गरे देशले आर्थिक फड्को मार्न सक्ने बताए । सिमा नाकामा भारतीय पर्यटकलाई तीनकिलोमिटर दुरीमा सात ठाउँमा चेकिङ गर्ने गरिएको भन्दै उनले असन्तुष्टी व्यक्त गरे । भारतीय पर्यटक नेपाली पर्यटनको आधार बन्न सक्ने बताउँदै उनले नेपालले पूर्वाधार विकासमा ध्यान दिनु पर्ने सुझाव राखे ।

छलफलमा संघका अध्यक्ष सुवेदीले यही चैत २९ देखि बैशाख १ गतेसम्म फेवातालको किनार लेकसाइडमा आयोजना हुने नयाँबर्ष महोत्सवमा सहभागिताका लागि पूर्वका बासिन्दालाई निम्ता पनि प्रदान गरे । महोत्सवका सहभागी पाहुनालाई होटलको प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गरिने घोषणा पनि उनले गरे ।  

आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्य बोकेर सुरु भएको अभियान चैत १३ गतेसम्म संचालन हुनेछ । आन्तरिक पर्यटन प्रवद्र्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता अनुरुप २५ वर्षअघि यो अभियान सुरु गरिएको थियो । यो पटक अभियान अन्तर्गत विराटनगर, इलाम र हेटौंडालाई पनि छनोट गरिएको छ । संघका अनुसार अहिले पोखराको होटल क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा ४० प्रतिशत रहेको पनि बताए ।

प्रकाशित: ११ चैत्र २०८२ १८:४६ बुधबार