नेपाल आयल निगमका लागि अमलेखगञ्जबाट लुम्बिनी प्रादेशिक कार्यालय भलवारीतर्फ ल्याउँदै गरिएको डिजेल बाटोमै ट्याङ्करबाट निकालिएको खुलेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई चालकविरुद्ध चोरी मुद्दा दर्ता गरिएको छ।
लुम्बिनी रोडस्थित सर्राफ आयल पम्पमा ट्याङ्करबाट डिजेल निकालिएको सूचनाका आधारमा प्रहरीले मंगलबार छापा मारेको थियो। छापा मार्दा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी जनक शाहीका अनुसार ट्याङ्कर चालक मसुद अजहर हुसेन र दुर्गेश चाईविरुद्ध चोरी मुद्दा दर्ता गरिएको छ। उनका अनुसार घटनामा अन्य व्यक्ति वा पक्षको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको छ।
प्रहरीले लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका दुईवटा ट्याङ्करबाट करिब ३० लिटर डिजेल निकालेर ड्रममा राखिएको अवस्थामा फेला पारेको थियो। घटनामा शंकास्पद देखिएको लु १ ख ६६१९ नम्बरको अर्को ट्याङ्करसमेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
निर्धारित गन्तव्यमा नपुगी पम्पमा डिजेल निकालिएको आरोप
नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलवारीका निमित्त प्रमुख सुरेन्द्र विष्टका अनुसार अमलेखगञ्जबाट भलवारीस्थित निगम कार्यालयमा तेल अनलोड गर्नुपर्ने ट्याङ्कर निर्धारित मार्ग छाडेर अन्यत्र लगिएको थियो।
निगमका अनुसार ढुवानीका क्रममा पेट्रोलियम पदार्थ चोरी वा अनधिकृत रूपमा बिक्री हुन नदिन ट्याङ्करमा विशेष सिल तथा तालाबन्दी गर्ने व्यवस्था छ। उक्त सिल तथा ताला निर्धारित लोडिङ र अनलोडिङ स्थलमा मात्र खोल्न मिल्ने व्यवस्था रहेको निगमले जनाएको छ।
तर, घटनामा ट्याङ्कर भलवारीस्थित निगम कार्यालय नपुग्दै अन्यत्र लगेर सिल तथा ताला तोडी डिजेल निकालिएको पाइएको हो।
पम्पलाई ६ महिना तेल नदिने निर्णय
घटनामा संलग्न सर्राफ आयल पम्पमाथि नेपाल आयल निगमले समेत कारबाही गरेको छ। निगमले उक्त पम्पमा ६ महिनासम्म पेट्रोलियम पदार्थको आपूर्ति बन्द गर्ने निर्णय गर्दै १ लाख रुपैयाँ जरिवानासमेत गरेको छ।
यस्तै, घटनामा संलग्न चालक तथा सहचालकलाई निगमका डिपो तथा कार्यालयमा प्रवेश रोक लगाइएको छ। निगमसँग करार सम्झौता भएका ट्याङ्कर सञ्चालन गर्न नपाउने गरी समेत कारबाही प्रक्रिया अघि बढाइएको निगमले जनाएको छ।
निगमले चालक, सहचालक तथा पम्प सञ्चालक पक्षमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरीसमेत दिएको छ।
घटनामा अन्य व्यक्ति तथा पक्षको संलग्नता भए–नभएको विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।
प्रकाशित: ३१ भाद्र २०८३ १९:१९ बुधबार