समाज

बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, उद्धार कोषमा ४० करोड दिने निर्णय

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका प्रत्येक प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। त्यस्तै, प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।

बुधबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीबाट राहतस्वरूप संकलित रकमबाट उक्त सहयोग गर्ने निर्णय गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिए।

बैठकले बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णयसमेत गरेको छ। उनीहरूका परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गरी रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय भएको काफ्लेले बताए।

त्यस्तै, मृतक प्रहरीका सन्ततिलाई शैक्षिक वृत्तिअन्तर्गत पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म तथा नेपाल प्रहरी आवासीय विद्यालय साँगा, काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी पोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, स्याफ्रुवेशी र बेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीका क्षतिग्रस्त व्यक्तिगत सामग्रीका लागि राहतस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।

यसैगरी, दिवंगत, सम्पर्कविहीन तथा घाइते प्रहरी कर्मचारी र उनीहरूका आफन्त तथा परिवारजनलाई खोजतलास, उपचार र सेवा–सुविधा प्राप्तिका लागि सहजीकरण गर्न नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ।

बैठकले बाढीमा परी हालसम्म फेला नपरेका प्रहरी कर्मचारीको खोजीलाई थप प्रभावकारी बनाउन परिवारका सदस्यसँग समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय पनि गरेको छ।

बैठकमा बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो।

प्रकाशित: १७ भाद्र २०८३ २१:४४ बुधबार