समाज

दसैं, माछामासु र स्वास्थ्य

के बालक, के वृद्ध, के महिला, के पुरुष, के धनी, के गरिब, के स्वस्थ, के बिरामी—सबै आआफ्नै किसिमले रमाउँछन् र भन्छन्– दसैँ आयो, खाउँला, पिउँला। आफ्नै घरमा बोका–खसी मार हान्ने भएर पनि रमाइलो मासुसँग जोडिन्छ। शरीरको बनोट र कामको प्रकृतिअनुसार दैनिक ३० देखि ५० ग्राम मासु खानाले आवश्यक खनिज पदार्थको मात्रा पुग्छ। किनभने एक सय ग्राम खसीको मासुमा २२ ग्राम प्रोटिन, ४ देखि ५ ग्राम चिल्लोपदार्थ, १ देखि १.५ ग्राम खनिज पदार्थ, ६० ग्राम पानी र भिटामिन ए, बी, सी पाइन्छ। नियमित मासु सेवन गर्नेमा मोटोपना, उच्च रक्तचाप, मिर्गौला, मुटु रोग, आन्द्रा र कलेजोको खराबी हुन्छ। चाडपर्वका बेलामा तीन–चार दिन मासु खाएर दीर्घकालीन असर नपर्ने भए पनि पहिलेदेखि रोगीलाई भने थप असर पर्छ र समस्या झन् जटिल बन्न सक्छ।

अप्राकृतिक तथा अखाद्य पदार्थको मिश्रण, प्रदूषण, तनावयुक्त जीवनशैली, विविध रोगको प्रकोप र अल्छी दिनचर्याका कारण जुनसुकै कुरा खानुपूर्व सोच्नुपर्ने अवस्था छ। त्यसमा पनि चाडपर्वमा स्वास्थ्य रक्षा अझै अहम् विषय बन्छ। बढी मासु र बोसो होस् भनेर पशुहरूलाई संगिनी सुई लगाउने, गर्भवतीलाई दिइने आइरन चक्की कुखुरालाई खुवाउने काम भइरहेको छ। पशुहरूमा जथाभावी जबर्जस्ती औषधि प्रयोगले मानिसमा सुपरबग उत्पन्न भएको छ। मासु, मसला र मदिरालाई अति आवश्यक ठान्नेहरू प्रायः चाडपर्वमा धेरै बिरामी पर्छन्। मानिसका ८० प्रतिशत रोग जन्मने मूल थलो पेट हो। जसका प्रमुख दुई कारणमा चाहिने जति खान नपाउनु वा चाहिनेभन्दा बढी खानु हुन्। पहिलो, खानै नपाउने समस्याको निदान, समाधान र उपचार नेता, सरकार, राज्य र उत्पादकको नीति, योजना, कार्यक्रम र नैतिकतामा भर पर्ने भएकाले यसबारेमा म चर्चा गर्दिनँ।

समाजमा हुनेखाने वर्ग र हुँदा खाने वर्गका बीचमा ठूलो खाडल छ। मिठो खाने र राम्रो लगाउने पर्वका रूपमा चित्रित यस पर्वले गाउँठाउँलाई साँच्चै आनन्दित तुल्याउँथ्यो। समाजलाई एकाकार बनाउँथ्यो। तर आधुनिकताका नाममा परम्परा खोसिँदो छ, संस्कार र संस्कृति लुटिँदो छ। तर पनि समाज रम्दै–रमाउँदै परिवर्तन भएकोमा खुसी मान्दै छ। ‘आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई’ भनेझैँ चाडपर्व मनाउनै ऋण लिनुपर्ने, ऋण तिर्न भएको सम्पत्ति बेचेर सुकुम्बासी बन्नुपर्ने वा तिर्नकै लागि विदेशिनुपर्ने अवस्था आएको छ। तसर्थ, घाँटी हेरेर हाड निल्नुपर्छ।

हाम्रो मासु खाने तरिका पनि एकदमै अस्वस्थकर छ। न हामीकहाँ स्वस्थकर ढंगले मासु उत्पादनका लागि जनावर पाल्ने प्रावधान छ, न मासु ओसारपसार र बिक्रीको कुनै उचित बन्दोबस्त छ। रिक्सा र टेम्पोमा तपतप आलो रगत चुहाउँदै ओसारिएका राँगाका फाल्साहरू, गल्लीगल्लीमा कस्ता पसलमा कसरी बेच्न राखिएका हुन्छन्, सबैले देखेकै छौँ। खसी र कुखुराको मासु पनि छेवैमा ढल बगिरहेका, झिँगा भन्किएका पसलमा यति अस्वस्थकर ढंगले राखिएको हुन्छ। यस्तो देख्दादेख्दै पनि हामीलाई घिन लाग्दैन भने हामीभन्दा हिंस्रक जनावर अरू कुन होला त? छालामा सबैभन्दा बढी संक्रमण हुन्छ भन्ने थाहा पाएका, पढेलेखेका मानिस पनि छालाबिनाको मासुमा त स्वादै हुँदैन भन्ने कुमान्यता छोड्न सक्दैनन्।

मासुको गुणस्तर

उपभोक्ताको घर, भान्छा र पकाउने भाँडामा आइपुगुन्जेलसम्म पशुपन्छीको मासुको अवस्था कस्तो हुन्छ भन्नेमा मासु बजारमा ठूलो अन्योल छ। सामान्य उपभोक्ताले पशु स्वस्थ भए–नभएको छुट्याउन सक्दैनन्। धेरैले मासु काटेको र ढुवानी गरेको पनि देख्दैनन्। त्यसैले बिक्री गर्ने ठाउँको सरसफाइको अवस्था र मासुको रूपरङ हेरेर मात्रै राम्रो–नराम्रो भन्ने निर्णय गरिन्छ। कुनै वैज्ञानिक जाँच वा परीक्षणभन्दा विश्वास नै हो नेपालमा बेचिने मासुको गुणस्तर मापनको आधार।

रोगी पशुपन्छीको मासु, कीटाणु भएको मासु, छालासहितको मासु, गुणस्तर परीक्षण नगरिएको मासु, ओसारपसारमा होसियारी नअपनाइएको मासु, अस्वस्थकर ढंगबाट फोहोर स्थानमा प्रदूषित हतियारबाट बध गरिएको मासु तथा अन्य वस्तु र मासुसँग मिसाएर बेचिने मासु सबै अस्वस्थकर हुन्छन्। उपभोक्तासम्म स्वस्थ र स्वच्छ मासु पुर्‍याउने दायित्व राज्यको हो। सरकारले जीवित पशुको स्वास्थ्य सुनिश्चित गर्न पशु स्वास्थ्य तथा पशु सेवा ऐन र मासुको गुणस्तर सुनिश्चित गर्न पशु वधशाला तथा मासु जाँच ऐन, २०५५, नियमावली, २०५७ र तत्सम्बन्धी नियम बनाएको छ। तर ती कागजमै सीमित छन्, व्यवहारमा आएका छैनन्। भगवान् भरोसाका रूपमा चलिरहेको माछामासुको गुणस्तरको अवस्थालाई परिवर्तन गर्न आगामी मंसिर १ गतेदेखि उपत्यकाका २१ स्थानीय तह र माघ १ गतेदेखि देशभर तीन दशक पहिलेको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी छ।

बलि चढाउनुभन्दा पहिले वा गाउँघरमा काट्दा वा दसैँमा हाँस, कुखुरा, बोका, राँगा, भेडा आदि पशुपन्छी भोग चढाउनुअघि पूजा गर्ने, पानी छर्केर पर्साउनुपर्ने धार्मिक संस्कार छ। पशुपन्छी पर्सिएन वा त्यसले टाउको हल्लाएन भने बलि चढाइँदैन। यसरी पशुपन्छी बध गर्नुअघि पर्सनुको धार्मिक तथा सांस्कृतिक महत्त्व आफ्नै ठाउँमा छ। त्यसमा वैज्ञानिक र व्यावहारिक कारण पनि छ। जसबाट पशुपन्छी स्वस्थ भए–नभएको सरल प्रविधिबाट जाँच्न सकिन्छ। अस्वस्थ पशुपन्छी पर्सिन मान्दैन। नपर्सिएको पशुपन्छी बलि चढाउनु, काट्नु पाप मात्र होइन, स्वास्थ्यका लागि पनि हितकर हुँदैन। त्यसैले नपर्सेको मासु नखानु राम्रो हो।

मासु भण्डारण

ताजा मासु खाने नेपाली संस्कारलाई राम्रो मान्नुपर्छ। मासु संरक्षण तथा सुरक्षित गर्ने विधिमा चिस्याउने, पकाउने (१५० देखि १६० डिग्री फरेनहाइटमा राखे सुरक्षित र २५० डिग्रीमा पकाए सबैखाले जीवाणुबाट सुरक्षित र लामो समय भण्डारण गर्न सकिने), जलवियोजन अर्थात् सुकुटी बनाएर, रसायन अर्थात् मरमसलाको प्रयोग, अम्ल्याउने र विकिरण गर्ने पर्छन्। चिस्याएर राखेको राँगाको मासु १२ महिना, बंगुर–बँदेलको मासु ६ महिना, खसीबोका, भेडा, च्याङ्ग्राको मासु ६ देखि ९ महिना, कुखुराको मासु ३ देखि ६ महिनासम्म राख्न सकिन्छ। माछामासु चाँडै बिग्रने भएकाले लामो समयसम्म सुरक्षित राख्न डिपफ्रिज अर्थात् शून्य डिग्री फरेनहाइट वा त्योभन्दा कम तापक्रममा राख्नुपर्छ।

फ्रिज नभएको खण्डमा मासुलाई आगो बाल्ने अगेनामाथि सुकाएर वा घाममा सुकाएर मासुमा भएको रगत र पानी हटाउनुपर्छ। पानी तथा ओसिलोपन नभए मासु बिग्रने, हानिकारक हुने तथा रोग लगाउने सम्भावना कम हुन्छ। गर्मीयाममा झोल हालेर पकाएको मासु दुई घण्टाभन्दा बढी समय कोठाको तापक्रममा राख्नु हुँदैन। पकाएको मासु फ्रिजमा राख्दा चाहिँ सेलाएपछि प्लास्टिक वा ढक्कनले छोपेर राख्नुपर्छ। तातै मासु राख्दा त्यसको गन्ध काँचो अण्डा वा वाफ सोस्ने अरू खानेकुराभित्र प्रवेश गर्न र ह्वास्स गन्हाउन सक्छ।

मासु खाँदा सर्न सक्ने रोग

धनी धेरै खाएर र गरिब सन्तुलित आहार वा खाना नपाएर रोगी हुने र अल्पायुमै मृत्यु हुने मुलुक विश्वमा नेपाल हो। चाडपर्वबाहेक वर्षभरि रुखोसुखो आधापेट खाने गरिब वर्गको त के कुरा, मध्यम वर्गले समेत सन्तुलित तथा स्वस्थकर खाना नखाँदा अधिकांश गरिब कुपोषणले अति दुब्ला, धनी बढी पोषणले अति मोटा र आधाजति मध्यमवर्गीय अनियमित आहारविहारका कारण विविध रोगग्रस्त छन्।

मासु खाँदा सर्न सक्ने परजीवी रोगमा टेनियासिस (फित्ते कीरा–टिनिया सोलियम, टिनिया साजिनाटा), हाइडाटिडोसिस, सिस्टिसर्कोसिस, ट्राइचिनेलोसिस, इकाइनोकोकोसिस, नाम्ले कीरा, ट्राइकिनेला स्पाइरालिस र फ्यासिओला हेपाटिका पर्छन्। विषाणुजन्य रोगमा रेबिज, बर्डफ्लु, खोरेत र रानीखेत पर्छन्। जीवाणुजन्य वा ब्याक्टेरियल संक्रमणहरूमा एन्थ्राक्स, ब्रुसेलोसिस, बोभाइन एन्ड एभियन क्षयरोग (टीबी), साल्मोनेलोसिस, टाइफाइड फिभर, लेप्टोस्पाइरोसिस, स्ट्रेप्टोकोकोसिस, स्टेफाइलोकोकोसिस, एक्टिनोमाइकोसिस र खाद्य विषाक्तता वा फुड पोइजनिङ पर्छन्। प्रोटोजोवाजन्य रोगमा टोक्सोप्लाज्मोसिस, जियार्डियासिस, अमिबियासिस, ब्यालान्टिडियासिस आदि सर्ने सम्भावना अत्यधिक रहन्छ।

मासुजन्य पदार्थकै कारण दाद र लुतो पनि हुने सम्भावना रहन्छ। झाडापखाला, हैजा, टाइफाइड तथा दीर्घकालीन रूपमा अल्सर, उच्च रक्तचाप, मुटु रोग, तल्लो आन्द्राको रोग, मिर्गौलाले काम नगर्ने अवस्था र क्यान्सर पनि मासुजन्य रोगमा पर्छन्। पोलेको मासु सेवनबाट पेटको क्यान्सर हुन्छ। सेकुवा, छोयला, कचिला बढी हानिकारक हुन्छन्। मिर्गौला र कलेजोका बिरामीले अत्यधिक मासु सेवन गर्नु हुँदैन, मासु सेवन नगर्नु नै राम्रो हुन्छ। पश्चिमा शैलीमा जस्तै सडक किनारमा परिकार खाने चलन नेपालका सडक तथा वातावरणका लागि उपयुक्त छैन। त्यस्तै, मासुलाई प्रदूषित गर्नेमा पशुको रगत र लादी मानिन्छ। रगत, आन्द्राभुँडी अनि भित्री आन्द्रालाई मासुको श्रेणीमा राखिँदैन। बधस्थल, काटछाँट गर्ने बेला र ओसारपसार गर्दा मासु प्रदूषित भई साल्मोनेला, सिगेला, इकोलाई, प्रोटियस, स्टाफिलोकोकस, क्लोस्ट्रिडियम पर्फ्रिन्जेन्स, ब्यासिलस सेरियस तथा गोबर–लादीबाट स्ट्रेप्टोकोकसको संक्रमण हुन सक्छ। धुलो, माटो र हिलोसँग मासु लत्पतिन गए क्लोस्ट्रिडियम बोटुलिनम, ढुसीबाट पेनिसिलियम, म्युकर, क्लाडोस्पोरियम, अल्टरनेरिया, स्पोरोट्राइकम र थाम्निडियमको संक्रमण हुन सक्छ।

उपभोक्ताले शुद्ध मासु खान पाउनु नैसर्गिक अधिकार हो। उपभोक्ताको खाद्य सम्प्रभुताको अधिकारमाथि कसैले पनि बाधा–अड्चन गर्न नपाइने विश्व स्वास्थ्य संगठनको नीति छ। नेपालमा यसको परिपालना भएको छैन। त्यसैगरी, पशु वधशाला र मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ कार्यान्वयनमा आउन नसक्नु, मासु बजार अव्यवस्थित हुनु र उपभोक्ता स्वास्थ्यप्रति सजग नहुनुले मासु पौष्टिकताले भरिपूर्ण खाद्यपदार्थ भए पनि खान नजान्दा स्वास्थ्यमा जटिल समस्या निम्तिन्छ। मासु दूषित हुनुका प्रमुख कारण रोगी पशुपन्छी र सरसफाइमा कमी नै हो। पशुपन्छीको मासु खान हुने वा नहुने भनी वध गर्नुअघि र वध गरेपछि मासु वा पशुपन्छीको राम्रोसँग निगरानी गरिनुपर्छ।

भर्खर समस्या सुरु भएका, उमेर पुगेका र वंशाणुगत दृष्टिले खतरा भएकालाई रोगले च्याप्ने बेला चाडपर्व हो। मासुसँगै सागपात, फलफूल, फाइबर, दही, सलाद र प्रशस्त पानी खाँदा त्यसमा हुने रेसा वा फाइबरले कोलेस्टेरोल घटाउँछ, पाचन प्रणाली राम्रो बनाउँछ। बोसोयुक्त मासु आफैँमा हानिकारक हुन्छ। त्यसमा हालिने प्राणी तथा सूर्यमुखी तेलले मुटु, मसलाले कलेजो र नुनले मिर्गौलालाई प्रत्यक्ष असर गर्छ। मासुसँगै रक्सी खाने चलन झनै नराम्रो हुन्छ। नियमित औषधि खाइरहेकाले औषधि खान बिर्सँदा हृदयाघात, पक्षाघातजस्ता जटिलता आउन सक्छन्। दिनहुँ एक घण्टा परिश्रम पर्ने गरी हिँड्न, व्यायाम वा योग गर्न तथा सक्रिय क्रियाकलाप गर्न भुल्नु हुँदैन। खाद्यपदार्थलाई सके तातोपानी, नभए सफा पानीले पर्याप्त पखाल्ने, माछामासु तथा सागसब्जीलाई भिन्दाभिन्दै भाँडाकुँडा प्रयोग गर्ने, प्रेसर कुकर भए त्यसमा नभए अन्य भाँडामा राम्ररी पकाउने र पकाउनुअघि तथा पकाएपछि बढीमा दुई घण्टासम्म चिसो ठाउँमा राख्न सकिन्छ। गर्मीमा त झन् एक घण्टामै बिग्रन सक्छ। खानेकुरा बढीमा पाँच दिनसम्म फ्रिजमा राख्न सकिन्छ।

अन्त्यमा, गुणस्तरहीन मासु सेवन गर्दा मानिसलाई रोग लाग्ने मात्रै होइन, ज्यानैसमेत जान सक्छ। वास्तवमा मासु खाँदा मानव जीवनलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ। मासुबाट प्राप्त हुने भिटामिन, खनिज तथा अन्य पौष्टिक पदार्थ दूध, घिउ तथा फलफूलबाट पनि प्राप्त गर्न सकिन्छ। तैपनि मान्छेको इच्छालाई मार्न सकिँदैन। मासु नखानु भन्न मिल्दैन, तर बेफाइदा नहुने गरी खानुपर्छ।

प्रकाशित: ३१ आश्विन २०८३ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App