कञ्चनपुरको बेदकोट नगरपालिका-५ पोलखरीमा ११ वर्षीय एक बालकलाई खरबुजा चोरेको आरोपमा हातखुट्टा बाँधेर अमानवीय ढंगले कुटपिट गरिएको छ।
बुधबार भएको सो घटनामा संलग्न ३६ वर्षीय भोज नाथलाई प्रहरीले नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमबहादुर शाहीका अनुसार आरोपित नाथलाई कञ्चनपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।
पीडित बालक राजेश भण्डारीको टाउकोमा गम्भीर चोट लागेको र महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा तीन टाँका लगाइएको प्रहरीले जनाएको छ।
घटना विवरण अनुसार चौधर नदी किनारमा क्रिकेट खेलिरहेका बालकको बल नाथको बारीमा पुगेको थियो। बल लिन गएका बालकलाई खरबुजा चोर्न आएको आरोप लगाउँदै नाथले डोरीले हातखुट्टा बाँधेर कुटपिट गरेका थिए।
सामाजिक सञ्जालमा भाइरल भिडियोमा बालकलाई डोरीले बाँधेर राखिएको देख्न सकिन्छ। सञ्जालमा बालकलाई कुकुर लगाएर टोकाइएको दाबी गरिएको छ। यद्यपि डीएसपी शाहीले कुकुरद्धारा टोकाइएको हुनसक्ने तर मेडिकल रिपोट नआइजेलसम्म यकिन भन्न नसकिने बताए। यस विषयमा थप सूक्ष्म अनुसन्धान भइरहेको उनको भनाइ थियो।
यसैबीच, सो क्षेत्रका प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दिपक बोहोराले यस घटनाप्रति आपत्ति जनाउँदै भर्त्सना गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत सांसद बोहोराले घटनालाई निन्दनीय र लज्जास्पद भनेका छन्।
‘ती अबोधलाई हातखुट्टा बाँधेर कुटपिट गर्नु र कुकुर लगाएर टोकाउनु मानवीय भएन। एउटा सानो गल्तीको सजाय यति क्रुर ! सोच्दा नै मन दुख्छ,’ सांसद बोहोराले लेखेका छन्, ‘१० वर्षको नाबालक, सही-गलत छुट्याउने कुरा सिक्नै बाँकी छ।’
सांसद बोहोराले पीडित बालक र परिवारसँग क्षमायाचना गर्दै यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सबै पक्षलाई सचेत बन्न आग्रह गरेका छन्। प्रहरीले घटनाको थप सूक्ष्म अनुसन्धान भइरहेको र दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता जनाएको छ।
प्रकाशित: १७ वैशाख २०८३ २०:५१ बिहीबार



