कपिलवस्तु नगरपालिकामा आयोजित आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विवाद उत्पन्न भएपछि पुरस्कार वितरण समारोह बहिष्कार गर्ने दुई विद्यालयमाथि अनुशासनात्मक कारबाही गर्न मेयर सुदीप पौडेलले निर्देशन दिएका छन्।
चैत १ गतेदेखि ४ गतेसम्म तौलिहवास्थित बुद्धपद माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगिताको पुरस्कार वितरण समारोहमा कनकमुनी मावि र बुद्धपद माविका खेलाडी अनुपस्थित भई बहिष्कार गरेपछि नगरप्रमुखले उक्त निर्देशन दिएका हुन्।
प्रतियोगिताका सबै खेल सम्पन्न भएपछि पुरस्कार वितरणको तयारी भइरहेका बेला बुद्धपद माविका खेल शिक्षक र खेलाडीहरूले कनकमुनी माविका दुई खेलाडी विद्यालय बाहिरका भएको दाबी गर्दै मौखिक उजुरी गरेका थिए। सो विवादका कारण करिब दुई घण्टाभन्दा बढी समयसम्म पुरस्कार वितरण समारोह अवरुद्ध बनेको थियो।
विवाद बढ्दै गएपछि दुवै विद्यालयले समारोह बहिष्कार गर्दै घर फर्केका थिए। पछि आयोजक कपिलवस्तु नगरपालिकाले अध्ययन गरी कनकमुनी माविका खेलाडी आधिकारिक रहेको लिखित निर्णय गरेको जनाएको छ।
प्रतियोगितामा कनकमुनी माविले १५ स्वर्ण, ५ रजत र ३ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको थियो। राष्ट्रिय मावि बिकुलीले ३ स्वर्ण, ४ रजत र १० कास्यसहित दोस्रो स्थान तथा शीतला बक्स माविले ३ स्वर्णसहित तेस्रो स्थान प्राप्त गरेका थिए। बुद्धपद मावि २ स्वर्ण, ११ रजत र ४ कास्यसहित चौथो स्थानमा सीमित भएको थियो।
पुरस्कार वितरण समारोहमा दोस्रो हुने राष्ट्रिय मावि बिकुलीलाई नगद २० हजार रुपैयाँसहित उपविजेता कप तथा तेस्रो हुने शीतला बक्स माविलाई नगद १५ हजार रुपैयाँसहित कप प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पौडेलले खेलमा जित–हार स्वाभाविक हुने उल्लेख गर्दै विवादका कारण पुरस्कार वितरण समारोहमै अनुपस्थित हुनु दुःखद भएको बताए। उनले अनुशासनहीन गतिविधिमा संलग्न विद्यालयलाई पुरस्कार नदिने चेतावनी पनि दिए।
समारोहमा वडा नम्बर १ का अध्यक्ष जाहिद खाँ, वडा नम्बर २ का अध्यक्ष प्रकाश गैरे, वडा नम्बर ४ का अध्यक्ष रविन्द्र प्रसाद तिवारी, वडा नम्बर ५ का अध्यक्ष दिरेप चौधरी, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी लगायतले खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा १८ विद्यालयका खेलाडीहरूको सहभागिता रहेको नगरपालिकाका सामाजिक विकास अधिकृत तथा कार्यक्रम संयोजक पदमराज श्रेष्ठले जानकारी दिए।
प्रकाशित: ४ चैत्र २०८२ २२:२४ बुधबार