समाज

बालबालिका कसुर मुद्दा: रेखा शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

बालबालिकासम्बन्धी कसुरमा पक्राउ परेकी पूर्व प्रदेश सांसद रेखा शर्मालाई काठमाडौँ जिल्ला अदालतले थुनामुक्त गर्दै बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार शर्मालाई हिरासतमा राखिरहन आवश्यक नदेखिएको ठहर गर्दै यस्तो आदेश जारी गरेको हो।

म्याद थपका लागि अदालतमा उपस्थित गराइएकी शर्मामाथि एक नाबालकलाई यातना दिई दास बनाएको गम्भीर आरोप लागेको थियो। तर, सुनुवाइका क्रममा सरकारी वकिल कार्यालय, काठमाडौं र उच्च सरकारी वकिल कार्यालय, पाटनले प्रमाण अभावका कारण मुद्दा नचलाउने निर्णय गरिसकेको तथ्य प्रस्तुत भएपछि अदालतले थुनामा राख्नु नपर्ने निष्कर्ष निकालेको हो।

अदालतले महान्यायाधिवक्ताको कार्यालयले समेत सो निर्णयलाई समर्थन गरिसकेको अवस्थामा पुनः थुनामा राखेर अनुसन्धान अघि बढाउनु औचित्यपूर्ण नदेखिएको उल्लेख गरेको छ। आदेशमा शर्मालाई हिरासतबाट मुक्त गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन भनिएको छ।

शर्माको पक्षमा वरिष्ठ अधिवक्ता श्रीकान्त बरालसहित कानुन व्यवसायीहरूको टोलीले बहस गरेका थिए। अदालतको यस निर्णयसँगै उक्त प्रकरणले नयाँ मोड लिएको छ भने अनुसन्धान अब बाहिरैबाट अघि बढ्ने भएको छ।

प्रकाशित: २२ चैत्र २०८२ २०:२२ आइतबार