समाज

आवासीय भिसामा किर्ते गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल अध्यागमन प्रणालीमा रहेको अभिलेख हेरफेर गरी गैरकानुनी रूपमा आवासीय भिसा जारी गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार महतोले नेपाल अध्यागमन सूचना प्रणाली (नेपाली पोर्ट) को ट्राभलर सेन्ट्रलाइजेसन सुविधा दुरुपयोग गर्दै आवश्यक कानुनी प्रक्रिया, अधिकारप्राप्त अधिकारीको स्वीकृति तथा तोकिएको राजस्व नतिरी भिसासम्बन्धी अभिलेख परिवर्तन गरेका थिए।

अनुसन्धानबाट २०८० फागुन ९ (२१ फेब्रुअरी २०२४) मा लक्जेम्बर्गका नागरिक पल क्रिस्टिन पेरिका नाममा जारी भएको आवासीय भिसाको अभिलेख अमेरिकी नागरिक डिन जे रोबिन्सनका नाममा स्थानान्तरण गरिएको र सोही भिसा रोबिन्सनको राहदानीमा टाँसी नेपालमा बसोबास गरेको खुलेको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार उक्त कार्यबाट सरकारी अभिलेखमा अनधिकृत रूपमा हेरफेर भएको, कानुनबमोजिमको प्रक्रिया पालना नगरिएको तथा सरकारलाई राजस्वसमेत नोक्सानी पुगेको देखिएको छ।

आयोगले राजिव महतोविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ तथा अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध सोही ऐनको दफा २२ अनुसार मुद्दा दायर गर्दै कानुनबमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ।

प्रकाशित: ११ श्रावण २०८३ १८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App