समाज

रोल्पा दुर्घटना: तीर्थ यात्री बोकेर जलजला जाँदै थियो जिप, मृतक २० मध्य अधिकांश एकै गाउँ एकै टोलका

रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ टाकुराबाट जलजला मेला भर्न हिँडेका तीर्थयात्री चढेको जिप रोल्पामा दुर्घटना हुँदा ज्यान गुमाएका २० जना मध्य अधिकांश एकै गाउँ एकै टोलका रहेका छन्।

थबाङको जलजलामा लाग्ने मेलाका लागि जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप बिहीबार दिउँसो २ सडकबाट करिब ८ सय मिटर तल खसेको थियो।

रोल्पा प्रहरीका अनुसार दुर्घटनामा परेका २० जनाकै घटनास्थलमै मृत्यु भएको हो।

सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीका अनुसार मृतकहरू प्रायः सबै एकै गाउँटोलका हुन्।

तीर्थाटनका लागि सँगै निस्किएका गाउँलेहरूको एकैपटक मृत्यु भएको खबरपछि सिस्ने गाउँपालिका–५ को टाकुरा गाउँ यतिबेला शोकमा डुबेको छ।

घटनास्थलमा रोल्पा प्रहरी प्रमुख वीरेन्द्र वीर विश्वकर्मासहित जनपथ प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्। दुर्घटनामा घाइते भएका एक जनालाई भने उपचारका लागि थबाङ पठाइएको प्रहरीले जनाएको छ।

जिपमा जम्मा कति यात्रु सवार थिए भन्ने अझै यकिन भइसकेको छैन। ‘पानी परिरहेको र टेलिफोनले राम्रो काम नगरेका कारण मृतकको विवरण, घाइते र अन्य अवस्थाको बारेमा पूर्ण जानकारी प्राप्त गर्न सकिएको छैन,’ प्रहरीले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०८३ २२:०९ बिहीबार