समाज

जोखिम बढेपछि बीपी राजमार्ग अनिश्चितकालकाे लागि दैनिक १२ घण्टा बन्द

जोखिम बढेसँगै काभ्रेस्थित बीपी राजमार्गको भकुण्डेबेँसी-खुर्कोट खण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ।  

काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मंगलबार बेलुकादेखि नै बाटो बन्द गर्न थालिएको नागरिकन्युजलाई जानकारी दिए। उनका अनुसार अब अर्को सूचना जारी नहुँदासम्म साँझ ५ देखि बिहान ५ बजेसम्म दैनिक १२ घण्टा राजमार्ग बन्द गरिनेछ ।  

सोमबार बीच बाटोमा पुगेर एउटा गाडी बिग्रिएपछि नै अरु गाडी पनि फसेको र गाडी बनाउँदा बनाउँदै बाढी आएको भन्दै उनले त्यो अवस्था फेरि उत्पन्न नहोस भन्नको लागि यो निर्णय गरिएको उनले बताए।  

'अहिलेको मौसम पनि कतिबेला पानी पर्छ भन्ने टुङगो नलाग्ने खालको छ। जसका कारण बाढीको जोखिम उच्च छ । सडक पनि कच्ची भएकाले यो सडक यात्राको लागि असुरक्षित छ । त्यही भएर हामीले राति गाडी चलाउन बन्द गर्यौं ।,' उनले भने, 'अब मौसम विज्ञान  विभागले तत्काल पानी पर्दैन भनेपछि वस्तुस्थिती हेरेर मात्रै थप निर्णय गर्छाै।'  

अचानक आएको बाढीका कारण सोमबार बीपी राजमार्ग अवरुद्ध हुँदा सयभन्दा बढी सवारीसाधन अलपत्र परेका थिए ।  

ती सवारीसाधनलाई अस्थायी डाइभर्सन बनाएर मंगलबार काठमाडौं पठाइएको छ। यस्तै, बाढीमा फसेका ८९ जनालाई सोमबार राति उद्धार गरिएको थियो । 

प्रकाशित: २२ वैशाख २०८३ १७:४३ मंगलबार