सर्लाहीका एक युवक घरबाट बेपता भएको करिब दुई सातापछि शव फेला परेको छ।
स्थानीय बिष्णु गाउँपालिका-४ मधुवनपटीका २३ वर्षीय सन्तोष महतोको शव गाउँ नजिकै पोखरीमा फेला परेको हो।
गत माघ २३ गते महतोको विवाह रौतहटको धरमपुर निवासी बद्री महतोकी छोरीसँग तय भएको थियो। विवाह हुनुभन्दा एक दिनअघि माघ २२ गते मेहन्दीको कार्यक्रम पूरा भएर घर अगाडि बालेको घुरमा हात सुकाउन निस्केका महतो बेपता भएका थिए।
बेपत्ता भएको सात दिनपछि उनको खोजीका लागि माघ २९ गते परिवारका सदस्यले जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन दिएका थिए।
गत २२ गते रातिदेखि हराइरहेका उनको शव शुक्रबार बेलुकी उनकै घरबाट करिब डेढ सय मिटर पूर्वमा रहेको पोखरीमा डुबेको अवस्थामा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले बताए।
मृतक महतोको शव पोस्टमार्टमका लागि सदर अस्पताल मलङ्गवामा राखिएको र घटनाको विषयमा गहन अनुसन्धान भइरहेको डिएसपी राइले बताए।
प्रकाशित: ९ फाल्गुन २०८२ १४:१५ शनिबार