रोल्पामा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ।
पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका-५ धैरेनीमा गए राति घरमाथिबाट पहिरो आई घर पुरिँदा स्थानीय ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो।
रोल्पा प्रहरी प्रमुख पञ्चकुमार बाखुका अनुसार प्रहरीले राति ३ बजेतिर घटनाको खबर पाएको थियो। बाखुले भनेका छन्, ‘शव निकाल्ने तयारीमा छौँ। टाउको मात्र देखिएको छ।’ स्थानीय महेन्द्र गुरुङका अनुसार पहिरोले ठूलो नोक्सान गरेको छ। ‘धेरै पशुचौपाया पुरिएका छन्। गाउँ नै जोखिममा छ।’
यस अघि बुधवार थबाङको कोटलबारामा १२ जना र बिहीवार सुनछहरिको फलबाङमा ४ जना गरी पहिरोले पुरिएर १६ जनाको मृत्यु भएको थियो।
प्रकाशित: ३१ श्रावण २०८३ ०६:२० आइतबार