समाज

आहालमा बिरामी, बेपरवाह प्रतिष्ठान

दिनहुँजसो आकाशे झरीले अस्पताल जलमग्न हुन्छ। उपचारका लागि अस्पताल पुगेका बिरामीको कहालीलाग्दो अवस्था निम्तिन्छ। 

पानीको आहालमै बिरामीले उपचार पर्खेर बस्नुपर्ने दर्दनाक अवस्थाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार सेवालाई उदांगो पारिदिन्छ। झरी परेपछि अस्पताल प्रांगणमा ठुलो तलाउ बन्छ। आकाशे झरीबाट खसेको पानीले निकास पाउँदैन। घुँडासम्मको पानीमा चोपिएर उपचारका लागि लाइनमा कुर्ने बिरामीलाई प्रतिष्ठानले सास्ती दिइरहेको छ। 

अस्पतालकै प्रांगणमा देखिने यो दर्दनाक घटनाबाट भने प्रतिष्ठान नेतृत्व टुलुटुलु हेरेर बसिरहेको छ। प्रतिष्ठानको यही बेमतलबी नियतका कारण बिरामीमा आक्रोश चुलिँदै गएको छ। ‘उपचारका लागि अस्पताल आयो, पानीमा डुबेर बस्नुपर्ने अवस्था छ’, तलाउ परेको पानीमा घुँडा डुबाएर उपचार पर्खिरहेका बंगलाचुलीका ज्वरोका बिरामी आकाश पुनले भने, ‘ज्वरोको बिरामी छु। यसरी पानीमा डुबेर बस्नुपर्ने अवस्था छ। झन् बिरामीले गलाउने डर भयो।’

दंगीशरण गाउँपालिकाबाट उपचारका लागि आएका रामसुरत चौधरी पनि अस्पतालले दिएको सास्तीबाट वाक्क थिए। झरीले जलमग्न अस्पतालपरिसरमा उनी पनि यताउता गर्दै थिए। ‘छाती दुख्ने समस्या भएर आएको हुँ, पानाी परेर झन् बेहाल भयो’, उनले भने, ‘अस्पतालले उपचार दिने हो कि झन् सास्ती? ठुलो अस्पताल भनेर आएको यहाँ झन् आफ्नै बिजोग भयो।’ 

दाङमा अचेल दिनहुँजसो परिरहने आकाशे झरीले प्रतिष्ठानमा उपचारका लागि बिरामीलाई सास्ती दिइरहेको छ। अस्पतालको मूलगेटदेखि अस्पताल प्रांगण पानीले भरिन्छ। बिरामी तथा बिरामीका आफन्त त्यही घुँडासम्मको पानीको तलाउ छिचोलेर ओहोरदोहोर गर्छन्। अझ ल्याब रिपोर्ट पाइने ठाउँ, स्वास्थ्य बिमाको उपचार सेवा पाउने थलो, तथा औषधी पसलमा बिरामी त्यही तलाउमै उभिएर लाइन लाग्नुपर्ने कहालीलाग्दो अवस्था निम्तिएको हुन्छ। 

बिरामी तथा बिरामीका आफन्तले खेप्नु परिरहेको यो सास्तीको मारमा तल्लो तहका अस्पताल प्रशासनका कर्मचारी परिरहेका हुन्छन्। सेवाग्राहीले तल्लो तहका कर्मचारीसँग आफूहरूले पाउनुपरेको सास्तीका बारेमा गुनासो गर्छन्। गुनासो सुन्ने तल्लो तहका कर्मचारीलाई यसको जवाफ दिनै सकस हुने गरेको छ। ‘बिरामी तथा बिरामीका आफन्त गुनासो लिएर सिधै हामीकहाँ ठोक्किनु हुन्छ, हामीले बिरामीलाई शान्त पार्न खोज्छौं, तर उहाँहरूमा आक्रोश पनि देखिन्छ’, एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘अस्पतालपरिसरमा बन्ने तलाउको निकास कहिले हुन्छ, त्यो हामीलाई थाहा हुने कुरै भएन।’ 

तर अस्पतालमा सर्वसाधारणले दिनहुँजसो खेप्नुपरिरहेको यो सास्तीदेखि नेतृत्व तह अनभिज्ञजस्तै देखिन्छ। लामो समयदेखि अस्पताल प्रशासन जलमग्न भएर बिरामीले सास्ती पाइरहँदा समेत प्रतिष्ठान नेतृत्वले पानीको निकास निकाल्ने प्रयास नै थालनी नगर्नुले नेतृत्व यो समस्या समाधानप्रति गम्भीर बन्न नसकिरहेको प्रस्ट हुन्छ। त्यसो त राजनीतिक नियुक्ति खारेज गरी स्वच्छ प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्ने सरकारको नीतिअनुरूप अहिले प्रतिष्ठानमा नयाँ उपकुलपतिसहित नयाँ पदाधिकारी भित्रिएका छन्। नियुक्त भएर आए लगत्तै प्रतिष्ठानमा आयोजना गरिएको परिचयात्मक कार्यक्रममा प्रतिष्ठान सुधारका लागि अथक् मेहनत गर्ने वचन दिएका उपकुलपति डा. अजयकुमार मिश्रको वचनलाई प्रतिष्ठानकै आँगनमा जम्मा हुने बिरामी डुब्ने पानीको आहालले फिक्का तुल्याइदिएको छ। 

उनी प्रतिष्ठानको उपचार सेवालाई थप परिस्कृत बनाएर लैजाने मिसनमा रहेको सुनाउँछन्, तर उपचारका लागि आएका बिरामी आहालमा बस्नु परिरहेको आपत्लाई अनदेखा गरिरहेका छन्। ‘लामो समय भइसक्यो अस्पतालमा पानी जम्मा भएर बिरामीको अवस्था दर्दनाक भइहेको छ, तर पनि नेतृत्व बिरामीको यो अवस्थाप्रति गम्भीर देखिनै सकेन’, एक सेवाग्राही भन्छन्, ‘अहिले त नयाँ सरकारले पठाएका मान्छे यस्तो सास्ती नहोला भन्ने थियो, जो आए पनि हुने केही रहेनछ।’

यता प्रतिष्ठान नेतृत्वले भने बिरामीले लामो समयसम्म सास्ती पाएपछि बल्ल अस्पतालले पानीको निकास निकाल्ने योजना बनाउँदै छ। प्रतिष्ठानका उपकुलपति डा. मिश्रले अस्पताल हाताभित्र जलमग्न पानी निकासका लागि नाला बनाइने र यसका लागि आगामी शुक्रबारसम्म ठेक्का खोल्ने तयारी भएको बताए। 

‘हामीले अस्पताल हाताभित्र जम्मा हुने पानी बाहिर निकाल्न प्रतिष्ठानले आफैं नाला बनाउने गरी तयारी थालेका छौं’, उपकुलपति मिश्रले भने, ‘आगामी शुकबारसम्म नाला निर्माणका लागि ठेक्का खोल्ने तयारीमा हामी छौं।’ उनका अनुसार अस्पताल हाताभित्र जम्मा हुने पानी अस्पताल बाहिर नालामा पानीको बहाव बढी भएर भित्र छिर्ने भेल हो। अस्पतालभित्र बाहिरको पानी छिर्ने गरेको भन्दै प्रतिष्ठानले निकासका लागि पहल गरिदिन घोराही उपमहानगरलाई गुहारेको समेत उनले बताए।

प्रकाशित: ३० भाद्र २०८३ १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App