समाज

मापसे गरी स्कुल बस चलाउने थप ५ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न विद्यालयमा चल्ने ५ वटा स्कुल बसका चालकहरूलाई मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको आरोपमा नियन्त्रणमा लिएको छ।

स्कुल बसका चालकहरूले मापसे गरी सवारी चलाउने गरेको भन्ने जनगुनासोका आधारमा मंगलबार बिहान ४ बजे गरिएको विशेष जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरीसहितको संयुक्त टोलीले पोखराका विभिन्न स्थानमा चेकजाँच गरेको थियो।

पक्राउ पर्ने चालकहरूमा रत्न ज्योती बोर्डिङ स्कुलको ग १ क ५९६२ नम्बरको बस चालक ४२ वर्षीय गोबिन्द क्षेत्री, केइएफ सेकेन्डरी स्कुलको ग १ क ४७६३ नम्बरको बस चालक ४५ वर्षीय सर्वजित रेग्मी र गुरुकुल विद्यासदन बोर्डिङ स्कुलको ग १ क १९५७ नम्बरको बस चालक ४७ वर्षीय दल बहादुर सुनार रहेका छन्।

त्यसैगरी, इमानुयल बोर्डिङ स्कुलको ग १ क ५००८ नम्बरको बस चालक ४७ वर्षीय मन बहादुर तामाङ र गण्डकी बोर्डिङ स्कुलको ग १ क ६६२३ नम्बरको बस चलाउने ३० वर्षीय रोनिश खनाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी हरी बहादुर बस्नेतका अनुसार विद्यार्थीहरूको सुरक्षामा गम्भीर खेलबाड गर्दै मापसे गरेर सवारी चलाएको पाइएकाले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

विद्यालय जस्तो संवेदनशील क्षेत्रका सवारी चालकहरू नै जिम्मेवार नभएको पाइएपछि प्रहरीले यस प्रकारको आकस्मिक चेकजाँचलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

प्रकाशित: ५ फाल्गुन २०८२ १८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App