समाज

जेनजी आन्दोलनको मौका पारेर भागेका २९६ कैदीबन्दी पक्राउ

जेनजी आन्दोलनका क्रममा कपिलवस्तु कारागारमा तोडफोड र आगजनी गरी फरार भएका ४ सय ५९ कैदीबन्दीमध्ये एक वर्षको अवधिमा २ सय ९६ जना पक्राउ परेका छन्।

२०८२ भदौ २५ गते कपिलवस्तु नगरपालिका–३ देववगढियामा रहेको कारागारमा तोडफोड र आगजनी भएपछि दुईवटा ब्लकबाट ४ सय ५९ कैदीबन्दी फरार भएका थिए।

फरार कैदीबन्दीलाई पक्राउ गर्न प्रहरीले २०८२ असोज १२ देखि २० गतेसम्म कारागारमा उपस्थित हुन सार्वजनिक आह्वान गरेको थियो। उक्त अवधिमा २५ जना कैदीबन्दी आफैँ कारागारमा हाजिर भएका थिए।

कारागारबाट भाग्ने क्रममा २९ जना र बजारका विभिन्न स्थानबाट ६५ जना गरी ९४ जना कैदीबन्दीलाई प्रहरीले दुई दिनमै पक्राउ गरेको थियो।

फरार भएकामध्ये अब १ सय ९ जना पक्राउ गर्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए।

यसैबीच केन्द्रीय कारागारका ८ जना, नख्खु कारागारका ५ जना, तुलसीपुर कारागारका ३ जना र कास्की कारागारका एक जना गरी अन्य कारागारबाट फरार भएका १७ जना पनि कपिलवस्तुमा पक्राउ परेका थिए। उनीहरूलाई सम्बन्धित कारागारमा पठाइएको प्रहरीले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीले अदालतमा समेत आगजनी गरेका थिए।

एक वर्षमा ३५३ फरार प्रतिवादी पक्राउ

यता, गत आर्थिक वर्ष २०८२/०८३ मा कपिलवस्तुमा विभिन्न मुद्दामा अदालतबाट सजाय र जरिवाना तोकिए पनि फरार रहेका ३ सय ५३ जना प्रतिवादी पक्राउ परेका छन्।

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाबाट ५५ लाख ९४ हजार ५ सय ७९ रुपैयाँ जरिवाना असुल भएको छ भने १ सय ७६ वर्ष ९ महिना ६ दिन कैद भुक्तान भएको छ।

अदालतको लगतअनुसार २ सय ७० जना पक्राउ परेका छन्। उनीहरूबाट ४९ लाख १८ हजार ७ सय ६२ रुपैयाँ जरिवाना असुल भएको छ भने १ सय ४० वर्ष १ महिना १९ दिन कैद भुक्तान भएको छ।

अदालतको विवरणमा लगत उल्लेख नभएका ५३ जना पनि पक्राउ परेका छन्। उनीहरूबाट ४ लाख ४१ हजार ३ सय ९९ रुपैयाँ जरिवाना र ३५ वर्ष १ महिना १७ दिन कैद असुल भएको छ।

त्यस्तै, जिल्ला प्रशासन र वन कार्यालयका मुद्दामा फरार रहेका ३० जना प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट २ लाख ३४ हजार ४ सय १८ रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद असुल भएको छ।

२०८३ जेठ ११ गते पक्राउ गर्नुपर्ने फरार प्रतिवादीको संख्या ४० रहेको थियो।

आर्थिक वर्ष २०८२/०८३ मा अदालतको विवरणअनुसार ९ सय ७३ जना फरार प्रतिवादी पक्राउ गर्न बाँकी थिए। प्राप्त पछिल्लो विवरणअनुसार अब ७ सय ३ जना फरार प्रतिवादी पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २५ भाद्र २०८३ २१:१२ बिहीबार