समाज

चीनतर्फ अलपत्र परेका ११४ नेपाली तातोपानी नाका हुँदै फर्किए

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सडक सञ्जाल विच्छेद भएपछि चीनको केरुङ क्षेत्रमा अलपत्र परेका ११४ जना नेपाली बिहीबार स्वदेश फर्किएका छन्।

चिनियाँ पक्षको विशेष सहजीकरणमा उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल ल्याइएको हो।

तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चिनियाँ पक्षले राहदानी नम्बर र व्यक्तिगत विवरणसहित ती नेपाली नागरिकलाई तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीहरूको जिम्मा लगाएको थियो।

‘चिनियाँ प्रतिनिधिले हामीलाई विभिन्न जिल्लाका ११४ नागरिक सुरक्षित रूपमा हस्तान्तरण गर्नुभएको छ,’ उनले भने।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बाढीका कारण रसुवागढी नाका बन्द भएपछि चीनतर्फ फसेका नागरिकलाई तातोपानी नाकाबाट फर्काइएको जानकारी दिए। हाल तातोपानी भन्सार बन्द रहे पनि पर्यटक र नागरिकको आउजाउका लागि भने नाका खुला राखिएको छ।

स्वदेश फर्किनेहरूमा अधिकांश सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका बासिन्दा छन्। ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार उनीहरू रसुवागढी नाकाबाट अस्थायी पास लिएर केरुङसम्म सामान लिन, लोड-अनलोड गर्न तथा होटल र रेस्टुरेन्टमा काम गर्न गएका थिए।

रसुवागढी नाका र पासाङल्हामु राजमार्ग बाढीले पूर्ण रूपमा बगाएपछि भिसा र राहदानी नभएका ती नागरिक तिब्बतमै अलपत्र परेका थिए।

महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले चीन सरकारको समन्वयमा उनीहरूलाई तातोपानी नाकासम्म पुर्‍याउन सहजीकरण गरिएको बताए। उनका अनुसार अस्थायी अनुमति लिएर गएका नेपालीहरू तिब्बततर्फ ३० किलोमिटरसम्म मात्रै जान पाउने व्यवस्था छ।

अझै ८ सय नेपाली स्वदेश फर्किने पर्खाइमा

नेपाली महावाणिज्य दूतावासका अनुसार हाल चीनको केरुङ क्षेत्रमा करिब एक हजार ६०० नेपाली रहेको अनुमान छ। जसमध्ये स्वदेश फर्किनका लागि ८०० जनाले नाम दर्ता गराइसकेका छन्।

‘धेरैजसो सामान लिन, किनमेल गर्न र मजदुरी गर्न गएका नेपालीहरू हुनुहुन्छ, उहाँहरूलाई पालैपालो नेपाल फर्काउने प्रक्रिया अघि बढेको छ,’ महावाणिज्यदूत निरौलाले भने।

भोटेकोशी बाढीपछि चीनतर्फ गएका धेरै नेपाली प्रभावित भएका छन्। सुरक्षित रहेकालाई फर्काउन थालिए पनि बाढी आएको दिनदेखि सम्पर्कविहीन रहेका सिन्धुपाल्चोकका मात्रै २३९ जनाको अवस्था अझै अज्ञात रहेको स्थानीय प्रशासनले जनाएको छ। उनीहरूको खोजी कार्य निरन्तर जारी छ।

प्रकाशित: १८ भाद्र २०८३ १९:३९ बिहीबार