बाराको विश्रामपुरबाट हराएका ११ वर्षीय बालक राजेश कुमार साहको अपहरणपछि भारत पुर्याएर हत्या गरिएको घटनामा संलग्न १७ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराले अभियुक्त किशोरविरुद्ध अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।
विश्रामपुर गाउँपालिका–३ मुसहरवा बस्ने ११ वर्षीय राजेश कुमार साह भदौ ९ गते बिहान करिब ९:०० बजे घरबाटै बेपत्ता भएका थिए। सोही दिन साँझ ७:५० बजे प्रहरी चौकी मुसहरवामा परिवारले खबर गरेलगत्तै प्रहरीले खोजी तीव्र पारेको थियो।
खोजीका क्रममा भदौ ११ गते बिहान १०:३० बजे भारतको बिहार राज्यस्थित मोतिहारी जिल्ला, नुनयाडी पञ्चायत वडा नं-१ स्थित सिंहा नदी किनारमा बालकको शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मिन बहादुर घलेका अनुसार संकलित सीसीटीभी फुटेज, स्थानीयवासीको भनाइ र भारतीय प्रहरीसँगको समन्वयका आधारमा अनुसन्धान गर्दा सोही ठाउँका १७ वर्षीय किशोरले बालकलाई अपहरण गरी भारतको उक्त स्थानमा लगी हत्या गरेको खुलेको हो।
पक्राउ परेका किशोरलाई जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी घलेले जानकारी दिए।
प्रकाशित: १६ भाद्र २०८३ २०:४० मंगलबार