मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा ईभी माइक्रो र सुमो गाडी एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
आइतबार दिउँसो १२:३० बजे काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ०६९७ नम्बरको यात्रुवाहक ईभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना.१ ज ५८७३ नम्बरको सुमो एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।
दुर्घटनामा सुमो चालकसहित त्यसमा सवार ६ जना तथा ईभी माइक्रो चालकसहित माइक्रोमा सवार ४ जना गरी जम्मा ११ जना घाइते भएका हुन्। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल, मकवानपुर लगिएको छ। घाइतेमध्ये एक जनाको अवस्था मध्यम र बाँकी १० जनाको अवस्था सामान्य रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा पर्साको बिन्दवासिनी गाउँपालिका-३ बस्ने ३४ वर्षीय सुमो चालक रविन्द्र उपाध्याय, पर्साकै वीरगन्ज महानगरपालिका-३१ बस्ने ३१ वर्षीया राधिका देवी, सोही ठाउँकी २६ वर्षीया रेखा ओझा र ४० वर्षीया उपम देवी रहेका छन्। यसैगरी, वीरगन्ज-१५ बस्ने ३२ वर्षीय शौरवकुमार गुप्ता र उनका २ वर्ष ६ महिनाका छोरा सौर्य साह पनि घाइते भएका छन्।
यस्तै, गोरखाको आरुघाट गाउँपालिका-७ बस्ने ३० वर्षीय माइक्रो चालक सोमबहादुर गुरुङ, रौतहटको वृन्दावन नगरपालिका-९ बस्ने ८ वर्षीया खजिना खातुन, सर्लाहीको बरहथवा नगरपालिका-८ बस्ने ३१ वर्षीय हरिन्द्र राय, गोडैटा नगरपालिका-६ बस्ने ३१ वर्षीय राकेश महन्त र गोडैटा-२ बस्ने २२ वर्षीय शत्रुधन कुशहवा पनि घाइते भएका छन्।
उनीहरू सबैको अवस्था सामान्य रहेको र हाल हेटौंडा अस्पतालमै उपचार भइरहेको छ।
प्रकाशित: १४ भाद्र २०८३ १६:२३ आइतबार