समाज

सर्लाहीमा १० वर्षीया बालिका तीन दिनदेखि बेपत्ता, खोजीमा प्रहरीको विशेष टोली परिचालन

सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर ३ हरकठवाकी १० वर्षीया बालिका चाँदकुमारी यादव तीन दिनदेखि बेपत्ता भएकी छन्।

स्थानीय रामविनय यादवकी छोरी चाँदकुमारी आइतबार बिहानदेखि सम्पर्कविहीन भएपछि परिवारजन र प्रहरीले उनको खोजी कार्य तीव्र बनाएका छन्।

बालिकाको खोजीका लागि इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपीकृष्ण सुवेदीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ।

आइतबार साँझदेखि प्रहरी, परिवार तथा आफन्तले सम्भावित स्थानमा बेपता बालिकाको खोजी गरिरहेका छन्।

बालिकाकी आमा मञ्जु देवीका अनुसार आइतबार बिहान करिब ११ बजे छोरी घाँस लिएर घर फर्किएपछि आफूले काटेको घाँस लिन छोरी खेततर्फ गएको जानकारी पाएकी थिइन्।

त्यसपछि उनी पनि खेततर्फ पुगेकी थिइन् । तर, खेतमा छोरी भेटिइनन्।

परिवारका अनुसार चाँदकुमारी धनकौल बजारस्थित सरकारी विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन्। रामविनयका दुई छोरा र दुई छोरीमध्ये उनी जेठी छोरी हुन्। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बालिकाको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्। 

प्रहरीले बालिका बेपत्ता हुनुको कारण तथा उनी गएको सम्भावित स्थानबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।

बालिकाकी आमा मञ्जु देवीले गाउँमा आफूहरूको कसैसँग विवाद नरहेको बताउँदै छोरीलाई कसैले मोटरसाइकलमा लगेको वा कुनै अप्रिय घटना भएको हुनसक्ने आशंका व्यक्त गरेकी छन्।

तीन दिन बितिसक्दा पनि बालिकाको अवस्था पत्ता नलागेपछि परिवारमा चिन्ता बढेको छ।

प्रकाशित: १६ भाद्र २०८३ १५:४७ मंगलबार