समाज

स्वरुप परिवर्तन गरी समाजलाई आतङ्कित पार्ने मोटरसाइकल नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत मोटरसाइकलको स्वरुप परिवर्तन गरी, ठूलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने, समाजलाई आतङ्कित पार्ने र शान्ति सुव्यवस्था खलल पार्ने १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।

यस्ता गतिविधि बढिरहेको भन्ने जनगुनासो आएपछि गएराति १ः०० देखि बिहान ६ः०० बजेसम्म जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा-६ लेकसाइडबाट चर्को आवाजमा ध्वनि प्रदूषण गर्दै हिँड्ने, शान्ति सुव्यवस्थामा खलल पार्ने र नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरीसँग झैझगडा गर्ने १० वटा मोटरसाइकल र छ जना चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

सवारीसाधन धनीले आफ्नो साधन ‘मोडिफाई’ नगरी पूर्ववत् असली स्वरुपमा चलाउन र मोडिफाई गर्ने कार्यमा ग्यारेज, वर्कसप र रिकन्डिसन हाउस सञ्चालकले समेत उक्त कार्य नगर्न/नगराउन पनि प्रहरीले अनुरोध गरेको छ।

सवारी मोडिफाई गरी चलाइएको पाइएमा सवारीसाधन धनी र उक्त कार्यमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही हुने प्रवक्ता बस्नेतले बताए।

प्रकाशित: ३० फाल्गुन २०८२ २०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App