प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशका समस्या बुझ्न र छलफल गर्न बोलाएको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरू अनुपस्थित रहे।
देश प्रक्रियागत ढंगले चल्नुपर्ने र संसद्मै प्रधानमन्त्रीलाई औपचारिक रूपमा चिन्ने अडानका कारण आफूहरू सिंहदरबार नधाएको भोजपुरबाट निर्वाचित श्रम संस्कृतिका सांसद ध्रुवराज राईले बताएका छन्।
बुधबार नागरिक न्युजको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै सांसद राईले प्रधानमन्त्रीको बैठक बहिष्कार गर्नुको कारणबारे खुलाएका हुन्।
प्रधानमन्त्री शाहले बोलाएको बैठकमा किन नजानुभएको भन्ने प्रश्नमा सांसद राईले राज्य सञ्चालनको एउटा विधि र प्रक्रिया हुने सुनाए।
‘प्रधानमन्त्रीज्यूले बोलाउँदा हामी जान्छौं, तर कम्तीमा संसद्को पहिलो बैठकसम्म त बस्न पाउनुपर्यो,’ उनले भनेका छन्, ‘संसदमा चिनौं न को मान्छे प्रधानमन्त्री हो। एकातिर सत्तापक्ष बस्ला, अर्कातिर प्रतिपक्ष बस्ला। प्रक्रियागत ढंगबाट राष्ट्र चल्नुपर्छ भन्ने हाम्रो मान्यता हो।’
उनले विगतका संसद् बैठकहरूमा पनि कोही जाने र कोही नजाने प्रवृत्ति रहेको स्मरण गराउँदै आफूहरूले संसदीय अभ्यासको सम्मान गर्न खोजेको दाबी गरे।
यद्यपि, संसदमा अवरोध आउने सम्भावना देख्नेबित्तिकै संवादका लागि बैठक बोलाउने प्रधानमन्त्री शाह र उनका सल्लाहकारहरूको कदम भने राम्रो रहेको राईले टिप्पणी गरेका छन्।
प्रधानमन्त्रीको निम्तो अस्विकार गर्नुको अर्को मुख्य कारण ठूला दलहरूको गतिविधि रहेको राईले खुलाएका छन्।
अहिले नेपाली कांग्रेस र नेकपा एमालेका कतिपय नेताहरू थुनिएको अवस्थामा रहेको र उनीहरूले संसद्को पहिलो बैठक नै बहिष्कार गर्ने हुन् कि भन्ने आशंका आफूहरूलाई रहेको उनले सुनाए।
‘खास भित्री कुरा चाहिँ के थियो भने, कांग्रेस र एमालेका मान्छेहरू थुनिरहेको अवस्था छ। उनीहरूले पहिलो बैठक नै बहिष्कार गरे भने सत्तापक्षले बैठक नै बोलाउँदैन कि भन्ने डर हामीलाई थियो,’ राईले भने।
यदि ठूला दलले संसद् बहिष्कार गरेको खण्डमा प्रतिपक्षको रूपमा श्रम संस्कृति पार्टी मात्रै उभिनुपर्ने परिस्थिति आउने र त्यसले संसदीय सन्तुलनमा असर पर्ने उनले औंल्याएका छन्।
त्यही राजनीतिक दाउपेच र अन्योललाई बुझ्न आफूहरूले ‘पर्ख र हेर’ को नीति लिएको उनको भनाइ छ।
आफूहरू सरकारमा जाने वा मन्त्री पदका लागि बार्गेनिङ गर्ने पक्षमा नरहेको सांसद राईले दाबी गरेका छन्।
‘हामी सत्तामा छैनौं, प्रतिपक्षमा छौं। तर जनताले विकास चाहेका छन्, त्यसैले जनजीविका र विकास निर्माणका मुद्दा उठाउन हामी सिंहदरबारमा उपस्थित हुन्छौं,’ उनले भनेका छन्।
अहिले संसद् बैठक आह्वान भइसकेको र कांग्रेस एमालेले समेत बैठक बहिष्कार नगर्ने छाँटकाँट देखिएपछि अब भने आफूहरू संसद्मा गएर आफ्ना कुरा राख्न तयार रहेको उनले बताएका छन्।
राईले देशको हितविपरीत हुने एमसीसी जस्ता सम्झौताको खारेजी र विदेशी ऋण नलिने पक्षमा संसद्भित्र सशक्त आवाज उठाउने बताए।
प्रकाशित: १८ चैत्र २०८२ २२:१३ बुधबार