श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्वसचिव भीम उपाध्यायले आफ्नो पार्टीलाई बदनाम गराउने उद्देश्यले प्रधानमन्त्री राहत कोषको क्यूआर कोड सम्पादन गरी श्रम संस्कृतिको क्यूआर राखेर प्रचार गरेको आरोप लगाएका छन्।
साम्पाङले फेसबुकमा भिडियो सार्वजनिक गर्दै उपाध्यायमाथि यस्तो आरोप लगाएका हुन्। उनले उपाध्यायलाई आफ्नो पार्टीको कट्टर विरोधी भन्दै उनका गतिविधिलाई बहिष्कार र तिरस्कार गर्न समर्थकहरूलाई आग्रहसमेत गरेका छन्।
साम्पाङका अनुसार सरकारले राहत रकम सङ्कलनका लागि सार्वजनिक गरेको प्रधानमन्त्री राहत कोषको क्यूआर कोडलाई सम्पादन गरेर त्यसमा श्रम संस्कृति पार्टीको क्यूआर राखिएको थियो। उक्त सामग्री उपाध्यायले नै तयार गरी पार्टीलाई बदनाम गराउने उद्देश्यले प्रचार गरेको उनको दाबी छ।
सामाजिक सञ्जालमा उनले भनेका छन्,'हाम्रो पार्टीलाई बदनाम गर्न खोज्ने प्रधानमन्त्री उद्धार कोषमा हाम्रो पार्टीको क्यूआर एडिट गरी बदनाम गर्न खोज्ने ढेडुमुखे रैछ। भिम उपाध्यायको वालबाट यो सुरु भएको देखिन्छ।'
साम्पाङले आफूहरूमाथि भइरहेको आलोचनाको आधारसमेत यही सम्पादित सामग्री बनेको बताएका छन्। उनले उक्त क्यूआर कोड उपाध्यायले पहिले नै प्रतिलिपि गरेको दाबी गर्दै त्यसैलाई आधार बनाएर अहिले पार्टीको बदनाम गर्ने प्रयास गरिएको आरोप लगाए।
यसअघि उपाध्यायले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री राहत कोषको क्यूआर भन्दै श्रम संस्कृति पार्टीको क्यूआर प्रयोग गरिएको विषयमा प्रश्न उठाएका थिए। उनले उक्त क्यूआरमार्फत हिजो र आजसम्म कति रकम सङ्कलन गरिएको हो भन्नेबारे तत्काल छानबिन गर्न माग गरेका थिए।
उपाध्यायको उक्त दाबीको जवाफ दिँदै साम्पाङले भने आफ्नो पार्टीलाई बदनाम गराउन क्यूआर कोड सम्पादन गरी गलत प्रचार गरिएको दाबी गरेका छन्।
यसैबीच साम्पाङले उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी दिएको बताएका छन्।
प्रकाशित: १२ भाद्र २०८३ १८:२९ शुक्रबार



