नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको शक्ति समीकरणमा फेरबदल देखिन थालेको छ ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षमा रहेका नेताहरू नै सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन सानेपा पुग्न थालेपछि कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ दृश्य देखिएको हो ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठक थापा सभापति निर्वाचित भएपछि र १४औँ महाधिवेशनबाट निर्वाचित पुरानो केन्द्रीय कार्यसमितिलाई समेत १५औँ महाधिवेशन प्रक्रियामा समेट्ने निर्णयपछि बस्न लागेको पहिलो बैठक हो ।
यसअघि देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट रहेका नेताहरूले थापासँग सहमति गरेर बैठकमा सहभागी हुन लागेको बताइएको छ । खड्का पक्ष १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुने सहमति यसअघि नै बनेको थियो ।
हालसम्म देउवा समूहमा रहेका भनिएका उपाध्यक्ष महालक्ष्मी डिना, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, राजीवविक्रम शाह, ज्ञानेन्द्रबहादुर कार्की, मदनकृष्ण श्रेष्ठ, रामहरि खतिवडा, राधा घले, नैनसिंह महर, गोविन्द भट्टराई, जिपछिरिङ लामा, इश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति विक परियार र गणेश लामा सानेपा पुगेका छन् ।
यस्तै, डा. शेखर कोइरालानिकट नेतृ किरण यादव पनि बैठकमा सहभागी हुन सानेपा पुगेकी छन् ।
यी नेताहरूको सहभागितालाई कांग्रेसभित्र लामो समयदेखि कायम रहेको गुटगत विभाजनबीचको समीकरण परिवर्तनका रूपमा हेरिएको छ । यद्यपि, बैठकमा सहभागी हुनु मात्रले उनीहरूले औपचारिक रूपमा आफ्नो पुरानो समूह त्यागेको निष्कर्ष निकाल्न भने हतार हुनेछ ।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमिति बनेपछि कांग्रेस दुई समानान्तर धारमा विभाजित भएको थियो । थापा नेतृत्वको विशेष महाधिवेशनलाई देउवा पक्षले स्वीकार नगरेपछि पार्टीको वैधानिकता, महाधिवेशन र नेतृत्वलाई लिएर विवाद कायम रह्यो ।
तर १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउन थापा नेतृत्वको कार्यसम्पादन समितिले विशेष महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय समितिमा सहभागी गराउने निर्णय गरेपछि परिस्थिति केही बदलिएको छ । थापाले देउवासहित बाहिर रहेका तत्कालीन पदाधिकारी तथा सदस्यहरूलाई महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।
त्यसको प्रभाव अहिले सानेपामा देखिन थालेको छ । हिजोसम्म देउवा पक्षमा उभिएका कतिपय नेताहरू आज थापा नेतृत्वको बैठकमा एउटै ठाउँमा देखिनुले कांग्रेसको आगामी महाधिवेशनमा पुरानो गुटीय समीकरण यथावत् रहने हो कि नयाँ समीकरण बन्ने हो भन्ने प्रश्न थप पेचिलो बनाएको छ ।
पूर्वसभापति देउवाले भने थापा नेतृत्वको विशेष महाधिवेशन र त्यसबाट आएको केन्द्रीय कार्यसमितिलाई अवैधानिक भन्दै थापा पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नहुन अपिल गरेका थिए । उनले आफ्नो समूहले अलग रूपमा अघि बढाउने महाधिवेशन प्रक्रियामा साथ दिन आग्रह गरेका छन् ।
तर देउवाकै समूहमा रहेका भनिएका नेताहरू थापा नेतृत्वको बैठकमा सहभागी हुन थालेका छन् । यसले कांग्रेसभित्र नेतृत्वको विवादभन्दा महाधिवेशन प्रक्रियामा सहभागी हुने प्रश्नलाई नेताहरूले फरक–फरक ढंगले हेर्न थालेको संकेत गरेको छ ।
यसअघि देउवा पक्षमा रहेका ३१ नेता थापा नेतृत्वको कार्यसमितिमा समाहित हुने तयारीमा रहेको समाचार सार्वजनिक भइसकेको छ । त्यसको आधार १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई १५औँ महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय बनेको छ ।
कांग्रेसको पछिल्लो घटनाक्रमलाई केवल ‘देउवा छाडेर गगनको साथ’ भन्ने कोणबाट मात्र बुझ्दा तस्वीर अपूरो हुन सक्छ । किनकि अहिलेको मुख्य प्रश्न नेताहरूले कुन गुट रोजे भन्ने मात्र होइन, कांग्रेसको आगामी महाधिवेशनमा पुरानो केन्द्रीय संरचना र नयाँ नेतृत्वबीचको सम्बन्ध कसरी व्यवस्थापन हुन्छ भन्ने पनि हो ।
विशेष महाधिवेशनपछि औपचारिक रूपमा दुई धारमा देखिएको कांग्रेसमा १५औँ महाधिवेशनले ती धारलाई एउटै प्रक्रियामा ल्याउने सम्भावना सिर्जना गरेको छ । पुरानो केन्द्रीय कार्यसमितिका सदस्यलाई नयाँ संरचनामा सहभागी गराउने निर्णयले कम्तीमा महाधिवेशनको प्रक्रियामा सहभागिताका लागि एउटा साझा आधार तयार गरेको देखिन्छ ।
तर सहभागिता र राजनीतिक समीकरण एउटै कुरा होइन । सानेपाको बैठकमा उपस्थित भएका नेताहरूले थापा नेतृत्वलाई राजनीतिक रूपमा स्वीकार गरिसकेका हुन् वा महाधिवेशन प्रक्रियालाई संस्थागत गर्न मात्र सहभागी भएका हुन् भन्ने कुरा आगामी निर्णय र उनीहरूको सार्वजनिक भूमिकाले स्पष्ट पार्नेछ ।
अहिले देखिएको दृश्य भने देउवा नेतृत्वको लामो समयको गुटीय संरचनाबाट आएका नेताहरू क्रमशः थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा प्रवेश गर्न थालेका छन् । यसले कांग्रेसको आगामी शक्ति समीकरणलाई नयाँ ढंगले परिभाषित गर्ने आधार तयार गरेको छ ।
१५औँ महाधिवेशनसम्म पुग्दा कांग्रेसका पुराना गुटहरू कुन रूपमा पुनर्गठित हुन्छन् र गगन थापाले ती समूहलाई आफ्नो नेतृत्वमा कसरी समेट्छन् भन्ने विषय थापाका लागि चुनौती हुनसक्छ ।
प्रकाशित: १ आश्विन २०८३ १५:२७ बिहीबार



