यो बेला प्राय: हरेक नेपालीले लिने नाम हो, बालेन्द्र शाह। उर्फ बालेन। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका बालेन शुक्रबार (भोलि) देशको शक्तिशाली प्रधानमन्त्री बन्दैछन्।
जोखिम मोलेर अघि बढ्न सक्ने क्षमताका धनी बालेनले नेपालमा राजनीति गर्ने दलहरूमध्ये सबैभन्दा बलियो संगठन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा गएर पनि सानदार मतसहित जीत हासिल गरेका थिए।
विगतमा लामो राजनीतिक अनुभव भएका महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापित र सिर्जनसिंहलाई हराउँदै बालेनले ठूलो तहल्का मच्चाएका थिए। उनले ४९ हजार ६ सय १४ मतको अन्तरले ओलीलाई पछि पार्दै संसदीय यात्रा तय गरे। उनको बाटो प्रधानमन्त्रीको छ। कुल १ लाख ६ हजार ३७२ मत खसेकोमा बालेनले ६८ हजार ३४८ मत पाएका थिए।
बालेन समकालीन नेपाली राजनीतिमा उदाएका एक लोकप्रिय र फरक पहिचान बनाएका व्यक्तिका रूपमा परिचित छन्। इन्जिनियरिङ पृष्ठभूमिबाट आएका उनले सामाजिक सञ्जाल र सांगीतिक क्षेत्रमा ‘बालेन’ नामले मात्र होइन, युवामाझ विशेष प्रभाव जमाउँदै देशको कार्यकारी नेतृत्वमा पुग्ने आधार तयार पारेका छन्। पारदर्शिता, सुशासन र शहरी सुधारका एजेन्डालाई प्राथमिकतामा राख्दै उनले नयाँ शैलीको नेतृत्व प्रस्तुत गरेका छन्।
कम बोल्ने स्वभाव भएका बालेन आफैंले औपचारिक कार्यक्रममा प्रायः भन्छन्, “म बोल्ने होइन, काम गर्ने व्यक्ति हुँ।”
बालेनको परिवार र प्रारम्भिक जीवन
२०४७ सालको वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका बालेन्द्र शाहले बाल्यकाल नरदेवी क्षेत्रमै विताएका थिए। प्रारम्भिक शिक्षा नरदेवीस्थित जलजला माध्यमिक विद्यालयबाट लिएका उनी सानैदेखि जिज्ञासु र तार्किक प्रश्न सोध्ने बानी राख्थे।
बालेनका बुबा डा. रामनारायण शाह आयुर्वेद चिकित्सक थिए। जन्मको समयमा उनी नरदेवी आर्युवेद अस्पतालमै कार्यरत थिए। परिवार पछि तीनकुने गैरीगाउँमा बसोबास गर्न थाल्यो। आमा ध्रुवादेवी शाहको ममता र बुबा रामनारायणको स्नेहमा हुर्किएका बालेनले दाजु कौशल र बहिनीसँग बाल्यकाल बिताए ।
जनस्वास्थ्य क्षेत्रमा काम गर्ने नर्स तथा मोडेल सविना काफ्लेसँग विवाह गरेका बालेनकी एक छोरी छन्।
उनको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिका वडा नं. २ मा रहेको छ। अहिले उक्त घरमा स्थानीय प्रशासनको कार्यालय छ।
पढाइ र विद्यार्थी जीवन
बालेनको प्रारम्भिक शिक्षा जलजला माध्यमिक विद्यालयबाट भएको थियो। उच्च माध्यमिक शिक्षा तीनकुनेस्थित भीएस निकेतनबाट पूरा गरे। स्नातक तहको अध्ययन हिमालयन ह्वाइट हाउस कलेजबाट सिभिल इन्जिनियरिङमा पूरा गरेका उनले भारतको कर्नाटकस्थित विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरे।
२०६३ सालसम्म बालेनले आठवटा विद्यालय परिवर्तन गरेका थिए। सानैदेखि उनी प्रश्न सोध्ने, जिज्ञासु र चुनौती स्वीकार गर्ने स्वभावका थिए।
राजनीतिक यात्रा
बालेन सानैदेखि राजनीतिक रूपले सचेत थिए। नौ कक्षादेखि नै उनी राजनीतिक चेतनासँग परिचित थिए। हिपप संगीतप्रतिको आकर्षणलाई उनी सामाजिक असन्तुष्टिको स्वरूपका रूपमा हेर्छन्।
राजनीतिमा उनी विकास र पारदर्शितालाई प्राथमिकतामा राख्छन्। गीत र अध्ययन दुबै माध्यमबाट समाज र देशमा सकारात्मक परिवर्तन ल्याउने प्रयत्न उनी गर्दै आएका छन्।
उनले आफूले भने राजनीतिक मार्गनिर्देशन नरसिंह व्यञ्जनकारबाट पाएको बताउने गरेका छन्। व्यञ्जनकारको मार्गदर्शनमा बालेनले जनता नजिक हुने, विपक्षीसँग पनि सम्बन्ध राख्ने कला सिकेका थिए।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेनले जनता विश्वास जिते र अहिले देशको प्रधानमन्त्री बन्दैछन्।
परिवर्तनको बिगुल फुक्दै कार्यकारी भूमिकामा प्रवेश गर्न लागेका बालेन र उनको टीमलाई सफल कार्यकालको शुभकामना।
प्रकाशित: १२ चैत्र २०८२ २०:५४ बिहीबार



