नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तन भए पनि जनतामा निराशा बढ्दै गएको र देश थप संकटतर्फ धकेलिएको बताएका छन्। उनले अहिलेको संकट र निराशाबाट मुलुकलाई निकास दिन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
शुक्रबार आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले कांग्रेस मुलुककै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी भएकाले वर्तमान संकट समाधानको जिम्मेवारी पनि उसकै काँधमा रहेको बताए।
उनले कांग्रेसले विगतमा लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनका लागि खेलेको भूमिकालाई बिर्सन नहुने बताए। इतिहासबाट पाठ सिक्दै वर्तमान चुनौतीको सामना गर्नुपर्ने उनको भनाइ थियो।
“२००७, २०४६ र २०६३/६४ सालको आन्दोलन कांग्रेसकै नेतृत्वमा भएको हो। २०७२ सालको संविधान पनि कांग्रेसकै नेतृत्वमा आएको हो। यसमा गर्व गर्न सक्नुपर्छ,” देउवाले भने।
ती राजनीतिक परिवर्तनमा अन्य दलको समेत साथ र सहयोग रहेको उल्लेख गर्दै देउवाले लोकतान्त्रिक उपलब्धिको रक्षा र संस्थागत विकासमा सबै पक्षको योगदानलाई सम्मान गर्नुपर्ने बताए।
देउवाले कांग्रेस अहिले गम्भीर आन्तरिक संकटबाट गुज्रिरहेको बताए। विशेष महाधिवेशनका नाममा पार्टीभित्र थप संकट सिर्जना गर्ने प्रयास भएको उनको आरोप थियो।
तर, पार्टीभित्र देखिएको विवाद र मतभेदका बीच पनि एकताको विकल्प नरहेको उनले स्पष्ट पारे।
“तर म अझै पनि भन्छु, एकताको विकल्प छैन। कांग्रेसमा संकट आउँदा देशमै संकट आउँछ। सबैलाई समेटेर बृहत् एकताको आवश्यकता छ। सबैलाई एक हुन आह्वान गर्दछु,” देउवाले भने।
उनले व्यक्तिगत तथा गुटगत स्वार्थभन्दा माथि उठेर पार्टीको बृहत्तर हितका लागि सबै नेता–कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताए। कांग्रेस विभाजित हुँदा त्यसको असर पार्टीमा मात्रै नभई मुलुकको लोकतान्त्रिक प्रणालीमै पर्ने उनको भनाइ थियो।
पूर्वप्रधानमन्त्री देउवाले मुलुक अहिले राजनीतिक, सामाजिक र आर्थिकलगायत सबै हिसाबले कठिन अवस्थामा रहेको बताए। यस्तो परिस्थितिबाट मुलुकलाई निकास दिन लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनले बताए।
उनले संवाद, सहमति र सहकार्यका माध्यमबाट मुलुकका चुनौती समाधान गर्न कांग्रेस तयार रहेको स्पष्ट पारे। “संवाद, सहमति र सहकार्यका लागि हामी तयार छौँ,” देउवाले भने।
उनले लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकताबाट मात्रै मुलुकलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सकिने बताए। जनतामा बढ्दै गएको निराशा अन्त्य गर्न राजनीतिक दलहरूले आफ्नो कार्यशैलीमा सुधार गर्दै सकारात्मक परिणाम दिने गरी अघि बढ्नुपर्ने उनको भनाइ थियो।
देउवाले न्यायपालिकाप्रति आफ्नो अटुट विश्वास रहेको बताए। कांग्रेसभित्रको वर्तमान विवादसमेत न्यायिक प्रक्रियाबाट समाधान हुने विश्वास व्यक्त गर्दै उनले अदालतबाट न्याय पाउने आशा रहेको बताए।
उनले न्यायपालिकाको निर्णयलाई सम्मान गर्दै संवैधानिक र लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्नुपर्नेमा जोड दिए।
प्रकाशित: २९ श्रावण २०८३ २०:१२ शुक्रबार
-600x400.jpg)


