राजनीति

बुद्धिप्रसाद पन्तको प्रश्न : गोली खाने दोषी, गोली हान्ने निर्दोष हुने कस्तो न्याय हो ?

प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्तले जेनजी आन्दोलनका क्रममा गोली लागेका तथा आन्दोलनमा सहभागी भएका युवाहरूले अझै न्याय नपाएको भन्दै सरकारसँग प्रश्न गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै पन्तले जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युवाहरूले व्यथिति, दण्डहीनता र भ्रष्टाचारविरुद्ध गरेको विद्रोह तथा राजनीतिक हस्तक्षेपलाई सम्मानपूर्वक स्मरण गर्नुपर्ने बताए। 

उनले तत्कालीन सरकारले आन्दोलनमाथि निर्मम दमन गरेको आरोप लगाउँदै त्यसपछि सरकार परिवर्तन भए पनि आन्दोलनका क्रममा पक्राउ परेका तथा मुद्दा खेपिरहेका युवाहरूको अवस्था गम्भीर रहेको बताए।

‘दुःखका साथ भन्नुपर्दा त्यस विद्रोहका धेरै योद्धाहरू आज पनि जेलमै छन्। कतिले मुद्दा खेपिरहेका छन् भने कति अझै पनि फरार हुन बाध्य भएका छन्,’ पन्तले भने। उनले आन्दोलनका क्रममा गोली खाने र गोली खान तयार हुनेहरू नै दोषी ठहरिने तर गोली हान्ने र गोली हान्न लगाउनेहरू निर्दोष हुने अवस्था स्वीकार्य नहुने बताए।

‘गोली खाने र गोली खान तयार हुने चाहिँ दोषी हुने अनि गोली हान्ने र हान्न लगाउने चाहिँ निर्दोष ठहरिने, यो कस्तो न्याय हो?’ उनले प्रश्न गरे। 

पन्तले जेनजी आन्दोलनपछि गठन भएका सरकार र संसद्ले आन्दोलनका क्रममा उठेका माग तथा युवाहरूले देखेका सपना कति सम्बोधन गर्न सके भन्ने विषयमा पनि समीक्षा आवश्यक रहेको बताए।

त्यसैगरी प्रतिनिधिसभा सदस्य भरतकुमार स्वारले पनि जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनकारीमाथि मुद्दा चलाउने तर गोली चलाउनेहरूमाथि अहिलेसम्म कारबाही नहुनुको कारणबारे सरकारसँग प्रश्न गरे। 

‘गोली हान्नेलाई कारबाही नगरी गोली खानेलाई ताकेर मुद्दा चलाउने किन?’ भन्दै स्वारले सरकारसँग प्रश्न गरे।

उनले जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसमा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। 

दुवै सांसदले आन्दोलनमा सहभागी युवामाथि लगाइएका मुद्दा, जेलमा रहेका आन्दोलनकारी तथा आन्दोलनका क्रममा भएको बल प्रयोगबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। उनीहरूले गोली चलाउने आदेश दिने तथा गोली चलाउने पक्षमाथि समेत निष्पक्ष छानबिन र कानुनी कारबाही हुनुपर्ने बताएका छन्।

प्रकाशित: २४ भाद्र २०८३ १४:१६ बुधबार