काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद् आएपछि क्षतिपूर्ति माग्नुभन्दा सम्भावित जोखिम न्यूनीकरण र रोकथामका लागि पूर्वतयारीमा लगानी बढाउनुपर्ने बताएकी छन्।
घरपझोङ गाउँपालिकाले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सहयोगी निकाय तथा विज्ञहरूको सहयोग र सहभागितामा भदौ ३० र ३१ गते आयोजना गर्न लागेको घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३ को सफलताको शुभकामना दिँदै डंगोलले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि समयमै विज्ञानसम्मत उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएकी हुन्।
उनले जलवायु परिवर्तनका कारण विश्वभर विभिन्न प्रकृतिका नकारात्मक असर देखिन थालेको उल्लेख गर्दै यसले प्रकृति, प्राणी तथा वनस्पतिको प्रणाली र मानिसको जीवनशैलीमा व्यापक परिवर्तन ल्याएको बताएकी छन्।
'विनाश भइसकेपछि क्षतिपूर्ति माग्नुभन्दा सम्भावित जोखिम न्यूनीकरणमा काम गर्नुपर्छ,' डंगोलले भनेकी छन्, 'वातावरण न्याय उपचारात्मक नभई वितरणात्मक न्याय केन्द्रित हुनुपर्छ।'
जलवायु परिवर्तनका कारण विपद्, रोगव्याधी, प्राकृतिक असन्तुलन, तापक्रममा अनपेक्षित वृद्धि तथा सांस्कृतिक पर्यावरण, जैविक विविधता र वासस्थानमा आएको उतारचढावले विश्वको भविष्यबारे नै चिन्ता बढाएको डंगोलको भनाइ छ।
जलवायु परिवर्तनको असरबारे छलफल गर्दा असर परिसकेपछि क्षतिपूर्ति दिनेभन्दा असर उत्पन्न हुन नदिने कारण पहिचान गरी त्यसतर्फ लगानी बढाउनुपर्ने उनले बताइन्।
हालैको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिलाई समेत दृष्टिगत गर्दै आगामी दिनमा सम्भावित बाढी, पहिरो, भूक्षय, डुबान, खडेरी, अनावृष्टि, अतिवृष्टि तथा महामारीजस्ता विपद्बाट क्षति हुन नदिन पूर्वाधारमा लगानी बढाउनुपर्ने उनले बताएकी छन्।
नेपालका हिमाल, पहाड, तराई, उपत्यका र बेँसी सबै क्षेत्र जलवायु परिवर्तनबाट प्रभावित रहेको उल्लेख गर्दै डंगोलले स्थानअनुसार प्रभाव र कारण फरक भए पनि कुनै पनि क्षेत्र पूर्ण रूपमा सुरक्षित नरहेको बताएकी छन्।
सम्मेलनमा जलवायु परिवर्तनका विविध पक्षमा घनीभूत विमर्श हुने विश्वास व्यक्त गर्दै उनले महत्वपूर्ण सम्मेलन आयोजना गरेकोमा घरपझोङ गाउँपालिकालाई बधाई तथा धन्यवाद दिएकी छन्।
सम्मेलनमा सहभागी भएर योगदान गर्ने तीव्र इच्छा हुँदाहुँदै केही प्राविधिक कारणले भौतिक रूपमा उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गर्दै डंगोलले सम्मेलनको पूर्ण सफलताको शुभकामनासमेत दिएकी छन्।
प्रकाशित: ३० भाद्र २०८३ ०९:२७ मंगलबार