नेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
सरकारले प्रतिशोधपूर्ण र बदलाको भावनाले पक्राउ गरेको तथा शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन भएको दाबी गर्दै एमालेले सडकदेखि संसदसम्मको प्रतिवाद रणनीति तय गरेको हो।
मंगलबार बसेको पार्टीको सचिवालय बैठकका निर्णयहरू सार्वजनिक गर्दै एमाले सचिव महेश बस्नेतले आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका हुन्।
सचिवालय बैठकले वडा तहदेखि संघीय राजधानीसम्मको आन्दोलन कार्यतालिका बनाएको छ।
घोषित कार्यक्रम अनुसार आगामी चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत् भेला गरिनेछ। त्यसैगरी, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन र वैशाख ३ गते वडा तहमा भेला हुनेछन्।
प्रदेशस्तरमा वैशाख ७ गते सबै प्रदेशका राजधानीहरूमा प्रदर्शन गर्ने र वैशाख १२ गते संघीय राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने एमालेको तयारी छ।
आन्दोलनका थप कार्यक्रमहरू तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णयसमेत भएको सचिव बस्नेतले बताएका छन्।
सडक आन्दोलनसँगै एमालेले नागरिक संवाद र संसदीय मोर्चालाई पनि सँगसँगै अघि बढाउने भएको छ। आन्दोलनका क्रममा सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी तोकिएको छ।
त्यसैगरी, संसद्भित्र अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्दै सरकारविरुद्ध प्रभावकारी प्रस्तुति दिने जिम्मा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई दिइएको छ।
यसै विषयमा ठोस रणनीति बनाउन बुधबार दिउँसो ३ बजे पार्टी कार्यालयमा संसदीय दलको बैठक बोलाइएको छ।
पार्टीको मूल आन्दोलनलाई सघाउन एमालेका भ्रातृ तथा जनसंगठनहरू पनि परिचालन हुने भएका छन्। सरकारले विद्यार्थी तथा पेसागत संगठनका गतिविधिमाथि गरेको हस्तक्षेपको विषयलाई समेत समेटेर सबै जनसंगठनले आ-आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने तय भएको छ।
जनसंगठनहरूको आन्दोलनलाई एकीकृत र प्रभावकारी बनाउन बुधबार बिहान ११ बजे पार्टी कार्यालयमा जनसंगठन संयन्त्रको बैठक बस्ने एमालेले जनाएको छ।
प्रकाशित: १७ चैत्र २०८२ १५:५२ मंगलबार