राजनीति

किरण बिकको दाबी- पहिलो दलित प्रधानमन्त्री उज्यालो नेपाल पार्टीले बनाउँछ

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य किरण बिकले आफ्नो पार्टीले दलित समुदायबाटै राष्ट्रपति र प्रधानमन्त्री बनाउने दाबी गरेको छन्।

शनिबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा आयोजित एक कार्यक्रममा बोल्दै बिकले दलित समुदायलाई केवल भोट बैंकका रूपमा प्रयोग गर्ने परम्परा तोड्दै उनीहरूलाई राज्यको सर्वोच्च कार्यकारी पदमा पुर्‍याउने उद्घोष गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिकले पुराना राजनीतिक दलहरूले दलित समुदायको भावनामाथि खेलबाड गरेको आरोप लगाए। उनले एमाले, कांग्रेस र माओवादीजस्ता पुराना दलहरूले वर्षौँदेखि दलितलाई आश्वासन मात्र दिएको तर निर्णायक तहमा अवसर नदिएको जिकिर गरे।

नेता बिकले आफ्नो पार्टीले अवलम्बन गरेको ‘सामुदायिक समाजवाद’ को सिद्धान्तले मात्रै दलित समुदायको वास्तविक हक–हित संरक्षण गर्ने दाबी गरे। ‘हाम्रो पार्टीको दर्शनले सामाजिक न्याय सुनिश्चित गर्दै विभेदको अन्त्य गर्ने लक्ष्य राखेको छ,’ उनले सुनाए, ‘देशभर रहेका करिब ६० लाख दलित समुदायलाई माया गर्ने र अवसर दिने एक मात्र पार्टी उज्यालो नेपाल हो।’

उनले जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने दलित शहीद र घाइतेहरूको उच्च सम्मान गरिने प्रतिबद्धता समेत जनाए। आन्दोलनमा दलित समुदायको योगदानलाई कदर गर्दै उनीहरूको सम्मानमा पार्टीले विशेष प्याकेज र कार्यक्रम ल्याउने उनको भनाइ थियो।

राज्यले दलित समुदायलाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा बिकले जोड दिए। ‘देश धनी भएपछि दलितमा लगानी गर्ने होइन, सुरुबाटै दलित समुदायमाथि लगानी गरे देश आफैँ धनी बन्छ,’ उनले तर्क गरे, ‘दलितलाई गरिब बनाएर देश कहिल्यै समृद्ध बन्न सक्दैन।’

उनले सुशासनलाई पार्टीको मुख्य आधार स्तम्भ मान्दै निजामती सेवा, नेपाल प्रहरी, न्यायलय, र विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूमा दलितको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने योजना सुनाए। साथै, सार्वजनिक र निजी क्षेत्रमा हुने विभेदविरुद्ध पार्टीले कडा कानुनी कारबाहीको नीति लिने उनले स्पष्ट पारे।

आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भ कोट्याउँदै बिकले दलितको नाममा खोलिएका साना र क्षेत्रीय दलहरूले ‘थ्रेसहोल्ड’ समेत कटाउन नसक्ने दाबी गरे।

उनले भने, ‘छुट्टै दलित पार्टी खोल्दा आन्दोलन झन् कमजोर हुन्छ र मूलधारबाट बञ्चित भइन्छ। त्यसैले अन्य समुदायसँग समेत सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन।’

उनले आगामी निर्वाचनमा करिब ७० लाख दलित मतदाताहरू उज्यालो नेपाल पार्टीको पक्षमा उभिने विश्वास व्यक्त गरे। नयाँ पार्टी भएकाले यहाँ आबद्ध हुने दलित अगुवाहरूले छिटो र फराकिलो राजनीतिक अवसर पाउने भन्दै उनले पार्टीको चुनाव चिन्ह ‘बलिरहेको चिम’ मा मतदान गर्न अपिल गरे।

प्रकाशित: ५ पुस २०८२ १९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App