राजनीति

सचिनलाई ट्रुडोको जवाफ : पार्टी बदल्न युवालाई अघि सार्नुपर्छ

फाइल तस्बिर

क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोले राजनीतिक दलभित्र परिवर्तन ल्याउन युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। 

उनले पुराना नेताको प्रभाव र स्थापित संरचनामा मात्र निर्भर नभई बाहिरबाट नयाँ पुस्तालाई राजनीतिमा सहभागी गराउनुपर्ने बताएका हुन्।

एक वेब सेमिनारमा नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सेनाले वामपन्थी, लोकतान्त्रिक समाजवादी र उदारवादी शक्तिबिच बढ्दै गएको वैचारिक दूरीबारे ट्रुडोसँग प्रश्न गरेका थिए। उनले समानता र समतामूलक समाजको पक्षमा उभिने यी राजनीतिक धारबिच मतभेद बढिरहेको भन्दै साझा आधार कसरी तयार गर्न सकिन्छ भनेर सोधेका थिए।

जवाफमा ट्रुडोले आफू प्रधानमन्त्री रहँदा पनि वामपन्थी र दक्षिणपन्थी दुवै पक्षबाट आलोचना खेप्नुपरेको अनुभव सुनाए। आफू केन्द्रवामपन्थी विचारधाराको भए पनि प्रदूषण नियन्त्रणका लागि ठुलो मूल्य निर्धारण गर्ने नीति ल्याएको र प्रशान्त महासागरसम्म ऊर्जा पाइपलाइन निर्माण गरेको उनले बताए।

‘मैले अर्थतन्त्र बलियो बनाउन काम गरेँ। त्यससँगै सामाजिक रूपमा प्रगतिशील नीति पनि अघि बढाएँ। तर, दायाँ र बायाँ दुवै पक्षबाट आलोचना खेप्नुपर्‍यो,’ उनले भने।

वामपन्थी दलले आफूले पर्याप्त काम नगरेको भन्दै आलोचना गर्ने गरेको उल्लेख गर्दै ट्रुडोले साझा आधार खोज्न र काम अघि बढाउन आफूले उक्त दलसँग प्रत्यक्ष सहकार्य गरेको बताए।

अमेरिकी डेमोक्रेटिक पार्टीको उदाहरण दिँदै उनले पार्टीले आफ्नो राजनीतिक पहिचान स्पष्ट पार्नुपर्ने बताए। उनका अनुसार डोनाल्ड ट्रम्पको विरोधमा मत माग्नु र राष्ट्रपतिको चुनावमा आफ्ना उम्मेदवारका पक्षमा मत माग्नु फरक कुरा हुन्।

‘ट्रम्पको विरोधमा मध्यावधि चुनावमा मत दिन सजिलो हुन्छ। तर, राष्ट्रपतिको चुनावमा मानिसहरूले कसैलाई छानेर मत दिन्छन्,’ उनले भने।

उनले डेमोक्रेटिक पार्टीले युवामाझ लोकप्रिय बन्दै गएको समाजवादी धार र पुरानो संरचनामा अडिएको केन्द्रवादी नेतृत्वबिच सन्तुलन मिलाउनुपर्ने बताए। पार्टीभित्र वरिष्ठता र पुरानो नेतृत्वको प्रभाव बढी हुँदा परिवर्तन कठिन हुने उनको भनाइ थियो।

ट्रुडोले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको राजनीतिक यात्राको उदाहरण दिँदै ओबामाले हिलारी क्लिन्टनको प्रभावशाली समूहसँग प्रतिस्पर्धा गर्दा पार्टीको स्थापित संरचनाभन्दा बाहिर समानान्तर संगठन निर्माण गरेको बताए। ओबामाले तल्लो तहका कार्यकर्तालाई सक्रिय बनाएर समर्थन जुटाएको उनको भनाइ थियो।

‘पार्टीभित्रबाट पुरानो संरचना नियन्त्रण गर्नेहरू मात्र विजयी हुँदैनन्। बाहिरबाट सबैभन्दा धेरै मानिसलाई राजनीतिमा सक्रिय बनाउनेहरू विजयी हुन्छन्,’ उनले भने।

ट्रुडोले सन् २०१६ मा एक वरिष्ठ अमेरिकी डेमोक्रेट नेतासँग भएको संवाद पनि सुनाए। आफूले क्यानडाको लिबरल पार्टीलाई ठुलो राजनीतिक गिरावटबाट पुनः बलियो बनाएको एक वर्षपछि ती नेताले अमेरिकी डेमोक्रेटिक पार्टीलाई कसरी पुनर्निर्माण गर्न सकिन्छ भनेर सोधेको उनले बताए।

जवाफमा आफूले ३० वर्ष उमेर समूहका युवाहरूको समूहसँग मिलेर पार्टीको संरचना परिवर्तन गरेको अनुभव सुनाएको ट्रुडोले बताए।

‘हामीले ४० वर्षभन्दा माथिका मानिसलाई पार्टीमा आउन नदिने भनेका थिएनौँ। तर, पार्टी परिवर्तनका लागि संघर्ष गर्ने समूहमा हामी नै बढी थियौँ। अन्ततः हामीले पार्टीको नेतृत्व आफ्नो हातमा लियौँ,’ उनले भने।

युवा कार्यकर्ता र सदस्यबाट ठुलो समर्थन पाएकै कारण पार्टीका पुराना संरचना परिवर्तन गर्न आफूलाई सहज भएको ट्रुडोको भनाइ थियो।

प्रकाशित: २१ कार्तिक २०८३ ०९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App