निजामती कर्मचारीसँग सम्बद्ध विभिन्न ट्रेड युनियनहरूले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई तथा शुभकामना व्यक्त गर्दै कर्मचारी प्रशासन सुधार र सुशासन सुनिश्चित गर्न ध्यानाकर्षण गराएका छन्।
संयुक्त विज्ञप्ति जारी गर्दै युनियनहरूले लामो समयदेखि प्रतिक्षामा रहेको संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेका छन्। कर्मचारी प्रशासनलाई चुस्त, दुरुस्त र प्रविधिमैत्री बनाउने विषयमा उनीहरूले विशेष जोड दिएका छन्।
त्यसैगरी, कर्मचारी सरुवा प्रणालीलाई पूर्वानुमानयोग्य, चक्रिय तथा स्वचालित बनाउनुपर्ने माग पनि गरिएको छ। विज्ञप्तिमा सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउँदै सुशासन कायम गर्नुपर्ने, सबै कर्मचारीका लागि समान अवसरसहित तहगत वृत्ति विकास प्रणाली लागू गर्नुपर्ने तथा कार्यसम्पादनमा आधारित तलब–भत्ताको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
नेपालले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का महासन्धिहरू, संगठन स्वतन्त्रताको हक तथा सामूहिक सौदावाजी अधिकारको पूर्ण कार्यान्वयनतर्फ पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
ट्रेड युनियन आन्दोलनको ऐतिहासिक पृष्ठभूमि स्मरण गराउँदै संगठनहरूले पेशागत हकहित संरक्षणसँगै नागरिकमैत्री प्रशासन निर्माणमा आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्।
जनताको विश्वासलाई सम्मान गर्दै सेवा प्रवाहलाई सरल, छिटो र पारदर्शी बनाउन सबै कर्मचारीहरूलाई जिम्मेवार भएर काम गर्न विज्ञप्तिमार्फत् आह्वान गरिएको छ।
विज्ञप्तिमा नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहाल, युनियनका अध्यक्ष उत्तमकुमार कट्वाल, राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्ट, मधेशी निजामती कर्मचारी मञ्चका कावा अध्यक्ष विजयकुमार यादव, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष यामबहादुर खत्री तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनकी अध्यक्ष सीता गुरुङले हस्ताक्षर गरेका छन्।
प्रकाशित: १३ चैत्र २०८२ २०:५८ शुक्रबार