संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटन क्षेत्रमा सुधार आवश्यक रहेको बताएका छन्।
नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको स्वागतमा कार्यक्रममा उनले सरकार फेरिएसँगै कार्यशैली पनि रुपान्तरण हुनुपर्ने बताए।
मन्त्री पौडेलले पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धि, नवप्रवर्द्धन र दिगो योजनामार्फत नेपाललाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सबैको प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए।
नेपालको विकासका लागि पर्यटन नै प्रमुख आधार भएकाले सोहीअनुसार योजना अगाडि बढाउनुपर्ने उनको भनाइ थियो।
मन्त्री पौडेलले पर्यटन प्रवर्द्धनका परम्परागत स्वरुप र अभ्यासबाट बाहिर निस्केर नवप्रवर्द्धनयुक्त अभियान सञ्चालन गर्नुपर्ने बताए।
उनले पर्यटन क्षेत्रमा परिणाम दिनेगरी काम गर्नुपर्ने र त्यसका लागि नीतिगत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए।
मन्त्री पौडेलले प्रतिशोधको राजनीति नगर्ने र काम गर्नेलाई प्रोत्साहन गर्ने बताए। उनले भने, ‘म राम्रो काम गर्नेलाई सम्मान गर्छु, तर नराम्रो काम गरे, आवश्यक परे कठोर निर्णय लिन तयार छु।’
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको समग्र संरचना, कार्यक्रम र नीतिगत दिशाबारे जानकारी दिएका थिए।
उनले पर्यटन बोर्डले सार्वजनिक निजी साझेदारी मोडेलमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपाललाई सशक्त रूपमा प्रवर्द्धन गर्ने रणनीति अघि सारेको बताए।
‘सरकार र निजी क्षेत्रबीचको समन्वयलाई थप मजबुत बनाउँदै पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउने कार्यक्रम र योजनाअनुसार अघि बढिरहेका छौं’, सीइओ जोशीले सुनाए।
प्रकाशित: २३ चैत्र २०८२ २१:५० सोमबार