नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले दुई छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरी एउटै प्रतिवेदन तयार गर्ने जिम्मेवारी तीन नेतालाई दिएको छ ।
काभ्रेको बल्थलीमा दुई दिन बसेको कार्यदलको आवासीय बैठकमा प्रतिवेदनबारे सहमति जुट्न नसकेपछि कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, सदस्य विष्णुप्रसाद पौडेल र सदस्य सचिव शंकर पोखरेललाई दुवै प्रतिवेदन तथा सदस्यहरूले दिएका सुझाव समेटेर एउटै प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको हो ।
एमालेका उपमहासचिव तथा कार्यदल सदस्य लेखराज भट्टका अनुसार तीनै नेतालाई दुई दिनको समय दिइएको छ । उनीहरूले तयार पारेको एकीकृत प्रतिवेदनमाथि कार्यदलको आगामी बैठकमा छलफल गरी पारित गरिनेछ । त्यसपछि प्रतिवेदन एमाले केन्द्रीय सचिवालयलाई बुझाइनेछ ।
‘दुवै मस्यौदा र कार्यदलका सदस्यहरूले दिएका सुझावहरूलाई मिलाएर एउटै प्रतिवेदन बनाउन जिम्मेवारी दिएको छ,’ भट्टले भने ।
एमाले पुनर्गठनका लागि कार्यदलका सदस्य सचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गर्नुपर्ने उल्लेख गरिएको थियो । उक्त प्रतिवेदनप्रति अध्यक्ष ओली असन्तुष्ट भएपछि कार्यदलका संयोजक बादललाई अर्को प्रतिवेदन तयार गर्न लगाइएको थियो ।
त्यसपछि बादल र पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन कार्यदलको बैठकमा प्रस्तुत भएका थिए । दुवै प्रतिवेदनलाई मिलाएर एउटै बनाउने उद्देश्यले बल्थलीमा आवासीय बैठक बसे पनि सहमति जुट्न नसकेपछि तीन नेतालाई एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको हो ।
प्रकाशित: २९ भाद्र २०८३ १६:५६ सोमबार



