नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा राजनीतिक क्रान्ति सकिए पनि दलहरूले प्रतिबद्धता जनाए अनुसार आर्थिक क्रान्ति हुन नसकेको गुनासो गरेका छन्।
बिहीबार नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित ‘क्रिएटर्स च्याम्पियन ३.०’ कार्यक्रममा बोल्दै उपाध्यक्ष ढकालले सरकार र राजनीतिक दलहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
कार्यक्रममा बोल्दै उपाध्यक्ष ढकालले गणतन्त्र स्थापनापछि दलहरूले राजनीतिक आन्दोलनको समय सकिएको र अबको बाटो आर्थिक क्रान्ति हुने भनेर घोषणापत्र जारी गरे पनि सोअनुरूप व्यवहारमा काम नदेखिएको बताए।
उनले भने, ‘दलहरूले घोषणापत्रमा आर्थिक क्रान्तिको कुरा गरे, तर व्यवहारमा सरकारले निजी क्षेत्रका लागि लगानीको ढोका अझै प्रभावकारी रूपमा खोलिदिएको छैन।’
पछिल्लो समय भइरहेका विभिन्न आन्दोलन र प्रदर्शनका क्रममा निजी क्षेत्र निसानामा परेको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘हरेक साना-ठूला प्रदर्शनमा निजी क्षेत्रमाथि नै आक्रमण भइरहेका छन्, जसले गर्दा व्यवसायीहरूको आत्मबल निकै घटेको छ,’ ढकालले भने ।
यद्यपि, मुलुकमा अझै पनि सम्भावना बाँकी रहेको उनले औंल्याए। सरकारले निजी क्षेत्रसँग खुला संवाद गरेर विद्यमान कानुनी तथा नीतिगत बाधा-अड्काउ फुकाउने हो भने मुलुक भित्रै प्रशस्त अवसर सिर्जना गर्न सकिने उनको भनाइ छ।
प्रकाशित: २२ माघ २०८२ १९:२६ बिहीबार