राजनीति

संसद्‌मा उठ्यो पैसा अभावमा महिलाले सडकमै बच्चा जन्माएको विषय

प्रतिनिधिसभा बैठकमा महिलाले सडकमै बच्चा जन्माएको घटनाबारे कुरा उठेको छ।

बिहीबार बसेको बैठकमा रास्वपा सांसद खगेन्द्र कर्णले गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले पैसा नभएको भन्दै भर्ना नलिएपछि महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसद‍मा उठाएका हुन्।

उनले स्वास्थ्य उपचारको नाममा भइरहेको चरम लापरबाहीप्रति सरकारको ध्यानाकर्षण गराए। महिलासँग पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माउन विवश भएको उनले बताए।

उनले भने ‘गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीका गरिब, विपन्न र असहाय नागरिकका लागि स्वास्थ्य उपचारको भरोसाको केन्द्र हो। तर, त्यही अस्पतालमा पैसाको अभावमा एक गर्भवती महिलालाई अस्पतालको गेटबाहिर सडकमै शिशु जन्माउन बाध्य बनाइयो।’

उनले यसमा सत्य तथ्य छानबिन गरी संसद् समक्ष यथार्थ विवरण पेस गर्न र दोषीलाई कारबाही गर्न माग गरे।

प्रकाशित: २५ भाद्र २०८३ १४:०४ बिहीबार