प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट छट्टै अन्त्य हुन लागेको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माणको काम हालसम्म ९३ प्रतिशत सम्पन्न भएको जनाउँदै यस्तो बताएका हुन्। उनले नौबिसे-नागढुङ्गा सुरुङमार्गलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने बताए।
प्रधानमन्त्री ओलीले लेखेका छन्, 'नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ।'
यसअघि मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको बैठकले नागढुंगा सुरुङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित गरिसकेको छ। जसअन्तर्गत सडक विभागले तयार पारेको उक्त निर्देशिकामा नागढुङ्गा सुरुङ मार्गको उपभोग दस्तुर तोक्ने सम्बन्धमा कार भ्यानहरूले काठमाडौं आउँदा ६५ र जाँदा ६० रुपैयाँ तिर्नुपर्ने छ। मिनी बस र ट्रकले काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ तिर्नु पर्ने छ।
यस्तै, बस र ट्रकका लागि काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ तोकिएको छ भने भारी उपकरणका सवारी साधनले काठमाडौं आउँदा ६०० र जाँदा २५० तिर्नुपर्ने छ।
यो पनि पढ्नुहोस्
नागढुंगा सुरुङमार्गः यात्रा दस्तुर स्वीकृत, गाडी कहिले गुड्ने ?
प्रकाशित: १ भाद्र २०८२ ०९:१९ आइतबार



