राजनीति

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या समाधान भइरहेको छ : परराष्ट्र मन्त्रालय

सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक समस्या क्रमशः समाधान भइरहेकाले राहदानी सेवा छिट्टै पूर्ववत सहज हुने जनाएको छ।

परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन मन्त्रालय र राहदानी विभाग प्रतिबद्ध रहेको स्पष्ट पारे।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उहाँले राहदानी प्रणाली परिवर्तनपछि गत असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत लाइभ राहदानी आवेदन लिई राहदानी जारी गर्ने कार्य सुरु भएको जानकारी दिए।

उनका अनुसार नयाँ प्रणालीमार्फत हालसम्म आठ हजार २६० राहदानी छापिसकेको छ। हाल राहदानी विभाग, देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, छ वटा इलाका प्रशासन कार्यालय तथा विदेशस्थित ३१ नेपाली नियोगबाट राहदानी आवेदन सेवा सञ्चालनमा रहेको छ।

त्यस्तै आठ वटा नेपाली नियोगमा कुनै पनि समय अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ।

प्रवक्ता पौडेलले प्रणाली स्थिरीकरणको चरणमा केही प्राविधिक समस्या देखिनु अपेक्षित रहेको उल्लेख गर्दै सम्बन्धित प्राविधिक टोलीले ती समस्याको समाधान गरिरहेको बताए।

मन्त्रालयकाअनुसार छापिएका राहदानी सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयमा शीघ्र पुर्‍याउन हुलाक विभागसँग सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ।

साथै, नागरिकले जुनसुकै जिल्लाबाट राहदानी आवेदन दिन सक्ने व्यवस्था कार्यान्वयनका लागि आवश्यक प्रक्रिया पनि सुरु भइसकेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: ८ श्रावण २०८३ १७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App