शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले वर्तमान सङ्कटको अवस्थामा खेलकुद क्षेत्रले विद्यार्थी, युवा र विशेषगरी बाढी प्रभावित बालबालिकाको मानसिक स्वास्थ्य सुधारमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा बिहीबार आयोजित २३औं संस्करणको ‘पल्सर स्पोर्ट्स अवार्ड २०८२’ समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो धारणा राखेका हुन्।
‘हालैको विनाशकारी बाढीमा धेरै बालबालिकाले आमाबुबा गुमाउनुभएको छ। कतिपयको त सिङ्गो गाउँ नै बगेको छ। यस त्रासदीपूर्ण अवस्थामा धेरैले मानसिक समस्या भोगिरहनुभएको छ,’ मन्त्री पोखरेलले भने, ‘यस्तो बेला उहाँहरूको मानसिक स्वास्थ्यमा सकारात्मक ऊर्जा थप्न र मनोबल बढाउन खेलकुद क्षेत्रले निकै राम्रो भूमिका खेलिरहेको छ।’
उनले मन्त्रालयको टोली बाढी प्रभावित क्षेत्रमै पुगेर विद्यार्थी तथा बालबालिकालाई खेलकुद सामग्री वितरण गरिरहेको जानकारी दिँदै छिट्टै प्रभावित क्षेत्रमा खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको बताए।
सरकारको प्रमुख प्राथमिकता बाढी प्रभावितको उद्धार र राहत वितरणमै रहेको बताउँदै उनले यस महाविपत्तिमा आर्थिक सहयोग गर्ने विभिन्न खेलकुद सङ्घसंस्थालाई धन्यवाद समेत ज्ञापन गरे।
स्पोर्ट्स अवार्डजस्ता सम्मान कार्यक्रमले खेलाडीको मनोबल र हौसला वृद्धि गर्न ठूलो मद्दत पुर्याएको भन्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आयोजकलाई आग्रह गरे।
सोही अवसरमा मन्त्री पोखरेलले आसन्न एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुने नेपाली खेलाडीहरूलाई उच्च प्रदर्शनको शुभकामना दिए।
राज्यले पर्याप्त स्रोतसाधन उपलब्ध गराउन नसके पनि खेलाडीहरूले आफ्नै मिहिनेतले देशको नाम उच्च राखेको भन्दै उनले खेलाडीको प्रशंसा गरे।
‘खेलाडीले देशको गौरवलाई सधैँ माथि राख्नुभएको छ। राज्यका तर्फबाट सीमित स्रोतसाधन उपलब्ध हुँदा पनि आफ्नो सम्पूर्ण तागत लगाएर देशको झन्डा फहराउने काम गरिरहनुभएको छ, यसका लागि म सम्पूर्ण खेलाडीप्रति आभारी छु’, मन्त्री पोखरेलले भने।
प्रकाशित: १८ भाद्र २०८३ २१:२० बिहीबार



